काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि लुम्बिनी लायन्सले श्रीलंकाका विकेटकिपर–ब्याटर निरोशन डिकवेलासँगको सम्झौता निरन्तरता दिएको छ ।
गत सिजन लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका डिकवेला आगामी सिजन पनि च्याम्पियन टोलीबाट खेल्ने भएका हुन् ।
गत सिजन समूह चरणका चार खेल सकिएपछि डिकवेला लुम्बिनीको टोलीमा आबद्ध भएका थिए । त्यसबेला लुम्बिनीले तीन खेलमा हार बेहोरेर दबाबमा थियो । डिकवेला टोलीमा आएपछि भने लुम्बिनीले बाँकी सबै ६ खेल जित्दै उपाधि हात पारेको थियो ।
डिकवेलाले गत सिजन लुम्बिनीबाट ६ खेल खेल्दै १२२ भन्दा माथिको स्ट्राइक रेटमा १३७ रन बनाएका थिए । उनको ब्याटिङ औसत ३४.२५ थियो, जुन लुम्बिनीका खेलाडीमध्ये सर्वाधिक थियो । लुम्बिनीबाट उनीभन्दा बढी रन रोहित पौडेलले २७६ तथा डी’आर्सी शर्टले २५६ रन बनाएका थिए ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले डिकवेलालाई पुनः टोलीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।
उनले डिकवेलाले व्यक्तिगत प्रदर्शनसँगै टोलीलाई एकजुट बनाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी सिजन पनि त्यस्तै योगदानको अपेक्षा गरिएको बताए ।
गत सिजनको क्वालिफायर–२ मा डिकवेलाले २२ बलमा २९ रन बनाएपछि लुम्बिनीले १३४ रन बनाएर विराटनगर किंग्सविरुद्धको खेलमा जित हात पारेको थियो । फाइनलमा उनले १२ बलमा अविजित ११ रन बनाएका थिए ।
त्यस्तै, विराटनगरसँगको समूह चरणको खेलमा उनले २२ बलमा अविजित २९ रन तथा पोखरा एभेन्जर्सविरुद्ध २२ बलमा ३७ रन बनाएका थिए । ३७ रन एनपीएलमा उनको व्यक्तिगत उच्च स्कोर हो ।
३३ वर्षीय डिकवेला हाल श्रीलंकामा दम्बुला सिक्सर्सबाट लंका प्रिमियर लिग खेलिरहेका छन् । उनले श्रीलंकाका लागि ५४ टेस्ट, ५५ एकदिवसीय र २८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्