सुदूरपश्चिम, साउन २९ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्।
प्रदेश प्रमुख नजीर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। भट्ट सुदूरपश्चिम प्रदेशका पाँचौँ मुख्यमन्त्री बनेका छन्।
सत्ता समीकरणमा परिवर्तन आएपछि मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएसँगै नेकपा प्रदेशसभा संसदीय दलका नेता भट्टले नयाँ सरकार गठनका लागि दाबी गरेका थिए।
चार वर्षमा चार मुख्यमन्त्री
सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा गठन भएयता सरकार परिवर्तनको क्रम तीव्र देखिएको छ। प्रदेश स्थापनापछि पहिलो कार्यकालमा तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता त्रिलोचन भट्टले पाँचै वर्ष मुख्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए।
प्रदेशसभाको दोस्रो कार्यकालमा भने हालसम्म चार जना मुख्यमन्त्री परिवर्तन भइसकेका छन्।
दोस्रो कार्यकालका पहिलो मुख्यमन्त्री राजेन्द्रसिंह रावलले २०७९ पुस २८ देखि माघ २६ गतेसम्म जिम्मेवारी सम्हाले। त्यसपछि नेपाली कांग्रेसका प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाह पहिलोपटक माघ २७ गते मुख्यमन्त्री बनेका थिए।
शाहले २०८१ वैशाख ५ गतेसम्म सरकारको नेतृत्व गरेपछि दीर्घबहादुर सोडारी वैशाख ६ गते मुख्यमन्त्री बने। सोडारीले सोही वर्ष साउन २० गतेसम्म जिम्मेवारी सम्हालेपछि पुनः कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बनेका थिए।
शाहले पहिलो कार्यकाल एक वर्ष चार महिना आठ दिन र दोस्रो कार्यकाल करिब दुई वर्ष आठ दिन सरकारको नेतृत्व गरे। सत्ता समीकरण परिवर्तन भएपछि उनले बिहीबार पदबाट राजीनामा दिएका हुन्।
केन्द्रको समीकरणको प्रभाव
सुदूरपश्चिम प्रदेशमा कुनै पनि दलको एकल बहुमत नभएकाले केन्द्रमा हुने राजनीतिक समीकरणको प्रत्यक्ष प्रभाव प्रदेश सरकारमा पर्दै आएको छ।
हाल ५३ सदस्यीय प्रदेशसभामा नेकपाका २२ र नेकपा एमालेका ११ सदस्य छन्। नेपाली कांग्रेसका १८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रदेशसभा सदस्य छन्। एक जना प्रदेशसभा सदस्यले राजीनामा दिएपछि हाल प्रदेशसभामा ५२ सदस्य कायम छन्।
नेकपा र एमालेका सदस्य संख्या जोड्दा ३३ पुग्ने भएकाले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सहज देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्