काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारका कामकारबाही र निर्णयबारे नियमित रूपमा जानकारी गराउन हरेक शुक्रबार दिउँसो १ बजे प्रेस ब्रिफिङ गर्ने भएको छ।
प्रधानमन्त्रीको प्रेस टिम र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्तासहितको कर्मचारी टोलीले संयुक्त रूपमा नियमित पत्रकार सम्मेलन गर्ने भएको हो। सरकार गठनपछि पहिलोपटक शुक्रबार संयुक्त प्रेस ब्रिफिङ गर्दै आगामी दिनमा प्रत्येक शुक्रबार दिउँसो १ बजे नियमित रूपमा पत्रकार सम्मेलन गर्ने समय तय गरिएको जानकारी दिइएको छ।
सरकारका निर्णय, नीतिगत काम तथा विभिन्न मन्त्रालयका गतिविधिबारे नियमित सूचना उपलब्ध गराउने उद्देश्यले प्रेस ब्रिफिङको व्यवस्था गरिएको हो। यसअघि प्रधानमन्त्री कार्यालयमा पत्रकारको प्रवेशमा समेत रोक लगाइएको भन्दै सरकारको सूचना प्रवाह र सञ्चारमाध्यमप्रतिको दृष्टिकोणबारे आलोचना हुँदै आएको थियो।
सरकारको सय दिनका उपलब्धि सार्वजनिक गरेपछि प्रधानमन्त्रीको टोलीले सूचना प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रयास थालेको हो। प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयलाई समेत आफ्ना काम, निर्णय र प्रगतिबारे नियमित रूपमा प्रेस ब्रिफिङमार्फत सार्वजनिक गर्न निर्देशन दिएको बताइएको छ।
परराष्ट्रपछि प्रधानमन्त्री कार्यालयबाट पनि नियमित ब्रिफिङ
परराष्ट्र मन्त्रालयले यसअघि नै नियमित प्रेस ब्रिफिङ सुरु गरिसकेको छ। अब प्रधानमन्त्रीको स्वकीय सचिवालयतर्फ दिपा दाहाल नेतृत्वको प्रेस टिम र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ प्रवक्ता सहसचिव हेमराज अर्याल नेतृत्वको टोलीले नियमित प्रेस ब्रिफिङ गर्नेछ।
प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दाहालका अनुसार कुनै महत्वपूर्ण घटना वा तत्काल सार्वजनिक गर्नुपर्ने विषय आएमा नियमित समयबाहेक पनि पत्रकारलाई आकस्मिक प्रेस ब्रिफिङका लागि बोलाउन सकिनेछ।
सूचना प्रवाहमा सुधारको अपेक्षा
प्रधानमन्त्री कार्यालयबाट हरेक साता हुने नियमित प्रेस ब्रिफिङले सरकारका निर्णय, नीति तथा कार्यक्रमबारे सञ्चारमाध्यमलाई प्रत्यक्ष र आधिकारिक जानकारी प्राप्त गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ।
नियमित संवादको माध्यमबाट सरकारी सूचना प्रवाहमा देखिँदै आएको अस्पष्टता तथा ढिलाइ कम हुने र सरकार तथा सञ्चारमाध्यमबीच थप पारदर्शी र सहयोगात्मक सम्बन्ध निर्माण हुने सरकारी पक्षको अपेक्षा छ।
यद्यपि, नियमित प्रेस ब्रिफिङ प्रभावकारी बन्न त्यसलाई औपचारिक सूचना दिने कार्यक्रममा मात्र सीमित नराखी पत्रकारका प्रश्नको स्पष्ट जवाफ दिने, निर्णयका आधार सार्वजनिक गर्ने र सरकारका कामको प्रगति तथा कमजोरी दुवैबारे जानकारी गराउने अभ्यास आवश्यक देखिन्छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्