काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ७५ करोडभन्दा बढी रुपैयाँ बराबरको चोरीपैठारी, निकासी तथा अन्य अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक एवं प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार विभिन्न जिल्लाबाट कुल १ अर्ब ७५ करोड २९ लाख १ हजार ८० रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको हो।
बरामद सामान भन्सार तथा राजस्व कार्यालय र सम्बन्धित निकायलाई बुझाइएको प्रवक्ता कार्कीले जानकारी दिए। गस्ती, चेकजाँच, अनुगमन तथा विशेष सूचनाका आधारमा अवैध सामान बरामद गरिएको उनले बताए।
पर्सामा सबैभन्दा बढी बरामद
जिल्लागत रूपमा सबैभन्दा बढी अवैध सामान पर्साबाट बरामद गरिएको छ। पर्साबाट २५ करोड ११ लाख ९४ हजार २५४ रुपैयाँ बराबरका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यस्तै, बाँकेबाट १३ करोड ६२ लाख २१ हजार १३८ रुपैयाँ, झापाबाट १३ करोड ८ लाख ८९ हजार ८८१ रुपैयाँ, रुपन्देहीबाट १२ करोड ८८ लाख २४ हजार ४२१ रुपैयाँ र कैलालीबाट १२ करोड ४२ लाख १० हजार ४२८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ।
सिरहा, कञ्चनपुर, सर्लाही, पश्चिम नवलपरासी, बारा, मोरङ, धनुषा, रौतहट, महोत्तरी, कपिलवस्तु र सुनसरीलगायत जिल्लाबाट पनि करोडौँ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको प्रवक्ता कार्कीले जानकारी दिए।
राजस्व संकलनमा सहयोग
सशस्त्र प्रहरीले चोरीपैठारी तथा अवैध निकासी नियन्त्रणका क्रममा बरामद गरेका सामान सम्बन्धित भन्सार तथा राजस्व कार्यालयमा बुझाउँदै आएको छ।
अवैध व्यापार नियन्त्रणसँगै बरामद सामानबाट प्राप्त हुने राजस्वमार्फत राज्यको आम्दानी बढाउनसमेत सशस्त्र प्रहरीको कारबाहीले योगदान पुर्याएको बताइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्