काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीलाई एकताबद्ध बनाउन अझै थप प्रयत्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा सुरु भएको कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लेखकले पार्टी एकताका लागि यसअघि भएका प्रयास पर्याप्त नभएको बताएका हुन् ।
लेखकले पार्टी एकताका लागि विभिन्न चरणमा आफू पनि संलग्न रहेको उल्लेख गर्दै अहिलेसम्म भएका प्रयासले अपेक्षित परिणाम दिन नसकेको बताए ।
“पार्टी एकता हुने सन्दर्भमा विभिन्न घटनामा जोडिएको छु, नजिकबाट मैले नियालेको छु । त्यस अर्थ पनि म भन्न सक्छु कि निकै प्रयत्न भए, तर हामीले परिणाम दिन सकेनौँ,” उनले भने ।
पूर्वगृहमन्त्रीसमेत रहेका लेखकले विशेष महाधिवेशनले पार्टीलाई विभाजनतर्फ धकेलेको दाबी गरे । उनले विशेष महाधिवेशनबाट कांग्रेस विघटनतर्फ जाने जोखिम रहेको भन्दै आफूले सुरुदेखि नै सचेत गराउँदै आएको बताए ।
देउवाको नेतृत्वमा एकताको प्रयास
लेखकले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीलाई पुनः एकताबद्ध बनाउने प्रयास गर्नुपर्नेमा जोड दिए ।
उनले नेतृत्व परिवर्तन वा हस्तान्तरणको विषय भए पनि त्यसका लागि वैधानिक बाटो अपनाउनुपर्ने धारणा राखे ।
“अवधि पुगिसकेपछि मात्रै सन्तान जन्मिँदा राम्रो हुन्छ,” लेखकले भने, “यदि नेतृत्व परिवर्तनकै प्रश्न थियो, हस्तान्तरणकै प्रश्न थियो भने पनि आदरणीय नेता शेरबहादुर दाइले वैधानिक रूपले सभापतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवस्था थिएन र उहाँले राजनीतिक रूपले पनि घोषणा गरिसक्नुभएको थियो ।”
उनले कांग्रेसमा भएको त्रुटि जहाँबाट सुरु भएको हो, त्यहीँबाट सच्याएर अघि बढ्नुपर्ने बताए । पार्टीभित्रको विवाद समाधानका लागि सबै पक्षले संयम र संवादलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्