काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको दोस्रो दिन आज विभिन्न विषयगत प्रतिवेदनमाथि छलफल सुरु भएको छ।
काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा जारी बन्दसत्रमा पार्टीको पछिल्लो आन्तरिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल भइरहेको छ। भेलामा राजनीतिक, समसामयिक राजनीतिक, आर्थिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको छ।
कसले कुन प्रतिवेदन प्रस्तुत गरे?
भेलामा पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन, डा. प्रकाशशरण महतले आर्थिक दृष्टिकोणसम्बन्धी प्रतिवेदन, उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव तथा रमेश लेखकले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन्।
प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार प्रस्तुत प्रतिवेदनमाथि सहभागी नेता तथा कार्यकर्ताले समूहगत छलफल गरी सुझाव दिनेछन्।
विशेष महाधिवेशनपछि इतर समूहको भेला
शुक्रबार पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्य तथा पूर्वमहामन्त्री शशांक कोइरालाको अध्यक्षतामा भेलाको उद्घाटन गरिएको थियो।
विशेष महाधिवेशन र त्यसपछि उत्पन्न पार्टीभित्रको विवादका बीच आयोजना गरिएको राष्ट्रिय भेलालाई इतर समूहको शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ।
भेलाले सहभागीबाट सुझाव संकलन गरी घोषणापत्र जारी गर्दै आइतबार समापन हुने जनाइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्