काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन्।
शनिबार काठमाडौंमा आयोजित कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भेला नयाँ पार्टी गठनका लागि नभएको बताए।
समयअनुसार पार्टी र विचारमा परिमार्जन आवश्यक पर्ने भएकाले यस्ता भेला आयोजना गरिएको उनको भनाइ छ। सर्वोच्च अदालतबाट आफूहरूको पक्षमा अनुकूल फैसला नआए पनि आपसी छलफलबाट आगामी रणनीति तय गरिने उनले बताए।
“मलाई लाग्छ, विपक्षमा (सर्वोच्च अदालतको फैसला) आउने सम्भावना कम छ। यदि आयो भने त्यसपछि सोचौँला, छलफल गरेर निर्णय गर्छौं,” उनले भने, “तर अर्को पार्टी खोल्ने म त्यसको पक्षमा बिल्कुलै छैन।”
महाधिवेशन देउवाकै नेतृत्वमा
डा. कोइरालाले आगामी कांग्रेस महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुने बताएका छन्। परिस्थितिअनुसार थप छलफल गरेर आवश्यक निर्णय लिन सकिने उनको भनाइ छ।
सरकारको कामप्रति असन्तुष्टि
नेता कोइरालाले बहुमतको सरकार भए पनि वर्तमान सरकारले उल्लेखनीय काम गर्न नसकेको टिप्पणी गरे। उनले सरकारलाई ‘कामचलाउ’जस्तो भएको बताएका छन्।
“हुन त बहुमत छ उनीहरूको, तर ठोस कुनै राम्रो काम गरेको त मलाई लाग्दैन। नयाँ कुनै नीतिहरू ल्याएका त छैनन् उनीहरूले। खालि यो कामचलाउ सरकार भनौँ न,” उनले भने।
वर्तमान सरकार पाँच वर्ष टिक्ने वा बीचमै मध्यावधि निर्वाचनमा जाने सम्भावना दुवै रहेको उनको धारणा छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्