काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा अनलाइनबाटै आबद्धता र बिमालेख नवीकरण गर्न सकिने व्यवस्था सुरु गरेको छ। अब नयाँ आबद्धता, बिमालेख नवीकरण तथा सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक (केवाइसी) लगायतका काम अनलाइनबाटै गर्न सकिने भएको हो।
बोर्डका प्रवक्ता डा. पवनकुमार शाहका अनुसार यसअघि दर्ता सहयोगीमार्फत मात्रै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने व्यवस्था रहेकामा शुक्रबारदेखि सेवाग्राहीले आफैँ अनलाइनबाट फारम भरेर प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था सुरु गरिएको हो।
उनका अनुसार ‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बिमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३’ बमोजिम अनलाइन सेवा सञ्चालनमा ल्याइएको हो।
इसेवा, खल्ती र कनेक्ट आईपीएसबाट भुक्तानी
अनलाइनबाट स्वास्थ्य बीमा आबद्धता तथा नवीकरण गर्दा इसेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
प्रवक्ता शाहका अनुसार व्यक्ति स्वयंले वा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध गर्न तथा बिमालेख नवीकरण गर्न सक्नेछन्।
५९ लाखभन्दा बढी बीमामा आबद्ध
स्वास्थ्य बीमा कार्यक्रममा हाल ५९ लाख ७० हजार ४०३ जना आबद्ध रहेको बोर्डले जनाएको छ।
कार्यक्रमअन्तर्गत पाँच जनासम्मको परिवारका लागि वार्षिक ३ हजार ५०० रुपैयाँ योगदानमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध हुने व्यवस्था छ।
परिवारमा थप हुने प्रत्येक सदस्यका लागि ७०० रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान छ। यस्तै, आठ प्रकारका कडा रोगका लागि एक लाख रुपैयाँसम्मको थप स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइने बोर्डले जनाएको छ।
अनलाइन प्रणाली सञ्चालनमा आएसँगै स्वास्थ्य बीमामा आबद्धता तथा नवीकरणका लागि दर्ता सहयोगीमै निर्भर हुनुपर्ने बाध्यता हट्ने र सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्