काठमाडौं । भाटभटेनी सुपरमार्केटको भक्तपुर स्टोर भदौ १ गतेदेखि चौबीसै घण्टा सञ्चालनमा आउने भएको छ। कम्पनीले आफ्ना स्टोरलाई अन्तर्राष्ट्रिय मोडलअनुसार २४ घण्टा सञ्चालन गर्ने तयारीस्वरूप भक्तपुरबाट पाइलट प्रोजेक्टका रूपमा यो सेवा सुरु गर्न लागेको जनाएको छ।
भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङका अनुसार बुधबार रातिदेखि स्टोर सञ्चालनको परीक्षण गरिएको थियो। परीक्षण सफल भएपछि भोलिदेखि औपचारिक रूपमा २४ घण्टा सेवा सुरु गर्ने निर्णय गरिएको हो।
गुरुङले विश्वका ठूला चेन स्टोरहरू २४ घण्टा सञ्चालन हुने गरेको उल्लेख गर्दै भाटभटेनीलाई पनि सोही मोडलमा अघि बढाउने तयारी भइरहेको बताए।
ग्राहकलाई सहज हुने अपेक्षा
हाल भक्तपुर स्टोर बिहान ७ः३० बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएको छ। २४ घण्टा सञ्चालनमा आएपछि ग्राहकले आफ्नो अनुकूल समयमा किनमेल गर्न सक्ने कम्पनीको विश्वास छ।
पाइलट प्रोजेक्टका रूपमा भक्तपुरमा सुरु गरिएको सेवा सफल भए अन्य स्टोरमा समेत विस्तार गर्ने योजना रहेको गुरुङले बताए।
राति सामान व्यवस्थापन गरिने
२४ घण्टा सञ्चालन गर्दा ग्राहकको उपस्थितिबीच सामान मिलाउने तथा व्यवस्थापन गर्ने समस्या हटाउन रातिको समयमा नै स्टोरको व्यवस्थापकीय काम गर्ने योजना कम्पनीले बनाएको छ।
राति काम गर्ने कर्मचारीलाई नियमित तलबभन्दा २५ प्रतिशत बढी पारिश्रमिक दिइनेछ। उनीहरूका लागि राति चिया तथा खाजाको व्यवस्थासमेत गरिने कम्पनीले जनाएको छ।
देशभर विस्तार गर्ने योजना
भक्तपुरबाट सुरु हुने २४ घण्टे सेवा क्रमशः देशभरका भाटभटेनी स्टोरमा विस्तार गर्ने कम्पनीको लक्ष्य छ। गत वर्ष जेनजी आन्दोलनका क्रममा भाटभटेनीका एक दर्जनभन्दा बढी स्टोरमा आगजनी भएको थियो। तीमध्ये अधिकांश पुनः सञ्चालनमा आइसकेका छन्।
कम्पनीका अनुसार हाल स्टोरहरू निश्चित समयसम्म मात्र सञ्चालन हुँदा विशेषगरी व्यस्त समयमा ट्राफिक तथा ग्राहक व्यवस्थापनमा समेत चुनौती देखिने गरेको छ। २४ घण्टा सञ्चालनले ग्राहकको चापलाई विभिन्न समयमा बाँड्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्