बाँके, साउन ३१ गते । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले विकास निर्माणका काम प्रभावकारी, गुणस्तरीय र समयमै सम्पन्न गर्न स्थानीय बासिन्दा र सरकारी निकायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
बाँकेको कोहलपुर नगरपालिका–२ गौरीडाँडामा आइतबार आयोजित स्थानीयवासीसँगको भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री खत्रीले आफ्नो घरआँगन र बस्तीमा सञ्चालन हुने विकास योजनाको गुणस्तर तथा प्रगतिबारे स्थानीय स्वयं चनाखो र जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
उहाँले विकास निर्माण सरकारको मात्रै जिम्मेवारी नभएको उल्लेख गर्दै योजनाको प्रभावकारिता बढाउन स्थानीय समुदायको सहभागिता र निगरानी पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो ।
“घर अगाडि हुने विकास निर्माणका काम समयमै र गुणस्तरीय ढङ्गले सम्पन्न गराउन स्थानीय बासिन्दा स्वयं चनाखो हुनुपर्छ, विकासका काम सरकारको मात्र जिम्मेवारी होइन, स्थानीय समुदायको पनि उत्तिकै भूमिका हुन्छ”, उहाँले भन्नुभयो ।
मन्त्री खत्रीका अनुसार प्रदेश सरकारले ग्रामीण क्षेत्रको सडक पूर्वाधार र पुल निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको छ । चालु आर्थिक वर्षमा सञ्चालन हुने विकास योजनाको कार्यान्वयन प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै उहाँले योजनाहरू समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन र समन्वय गरिएको बताउनुभयो ।
प्रदेश सरकारको बजेट सीमित भएकाले नागरिकका सबै माग एकैपटक सम्बोधन गर्न नसकिएको स्वीकार गर्दै उहाँले आवश्यकता र प्राथमिकताका आधारमा योजना छनोट गरी उपलब्ध स्रोतसाधनको अधिकतम उपयोगमार्फत क्रमशः माग सम्बोधन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री खत्रीले निर्माण व्यवसायी, प्राविधिक, सरकारी निकाय र स्थानीय बासिन्दाबीच नियमित समन्वय भएमा विकास योजनामा देखिने समस्या समयमै समाधान गर्न सकिने बताउनुभयो ।
भेटघाटका क्रममा स्थानीयवासीले सडक, पुल, खानेपानी, नालीलगायत पूर्वाधारसँग सम्बन्धित समस्या र आवश्यकताबारे मन्त्री खत्रीलाई जानकारी गराएका थिए । उहाँले प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने विषयलाई सम्भव भएसम्म प्राथमिकताका साथ सम्बोधन गर्ने बताउनुभयो ।
यसै क्रममा मन्त्री खत्रीले बाँकेको बैजनाथ गाउँपालिकाका चिसापानी, डिगिया र तिलकपुरलगायत क्षेत्रमा पुगेर स्थानीयवासीसँग विकास निर्माणका विषयमा छलफल गर्नुभयो । स्थानीयसँगको प्रत्यक्ष भेटघाटले विकासका वास्तविक आवश्यकता पहिचान गर्न तथा योजनाको कार्यान्वयनमा देखिएका समस्या बुझ्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।
प्रदेश सरकारबाट सञ्चालन हुने योजनाको प्रभावकारिता बढाउन स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकता दिइएको पनि मन्त्री खत्रीले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकालले पछिल्लो एक दशकमा नेपालले विकास निर्माणका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताउनुभयो । सडक, पुल, विद्युत्, सञ्चारलगायत भौतिक पूर्वाधारको विस्तारले नागरिकको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको उहाँको भनाइ थियो ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्