काठमान्डौ नेपालमा विद्युतीय सवारीसाधन (इभी)प्रति आकर्षण बढ्दै गए पनि यसको प्रयोग विस्तारमा उच्च मूल्य र पर्याप्त चार्जिङ पूर्वाधारको अभाव मुख्य चुनौतीका रूपमा देखिएको छ।
रेज कन्सल्ट प्रालिले तयार गरेको ‘नेपालमा इभी अपनाउने अवस्था सम्बन्धी अध्ययन’ को प्रारम्भिक निष्कर्षमा अधिकांश सहभागीले इभीको मूल्य महँगो हुनु र चार्जिङ पूर्वाधार पर्याप्त नहुनुलाई प्रमुख समस्या बताएका छन्।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र नासा फाउन्डेसन नेपालको सहकार्यमा साउन २९ गते काठमाडौंको ग्वार्कोस्थित रोयल ट्युलिपमा आयोजित सरोकारवाला परामर्श कार्यक्रममा अध्ययनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको हो।
रेज कन्सल्टका प्रबिन सिंहले प्रस्तुत गरेको अध्ययन सातवटै प्रदेशका २ हजार ६७ जना सहभागीमा गरिएको हो। अध्ययनअनुसार ७८ प्रतिशत इभी प्रयोगकर्ता सन्तुष्ट रहेको पाइएको छ भने ५१.९ प्रतिशतले आगामी सवारीसाधनका रूपमा पनि इभी नै खरिद गर्ने बताएका छन्।
तर इभी अपनाउन प्रमुख अवरोधका रूपमा ४८ प्रतिशतले उच्च मूल्य, ४३.६ प्रतिशतले चार्जिङ पूर्वाधारको अभाव र ४२.५ प्रतिशतले ब्याट्रीसम्बन्धी चिन्ता औँल्याएका छन्। त्यस्तै, ५४.१ प्रतिशत सहभागीले सुरक्षा नियमनप्रति कमजोर विश्वास रहेको बताएका छन्।
अध्ययनले नेपालमा इभीको प्रयोगलाई व्यवस्थित र दिगो रूपमा विस्तार गर्न वित्तीय प्रोत्साहन, चार्जिङ पूर्वाधार, सुरक्षा मापदण्ड, जनचेतना, सार्वजनिक यातायातको विद्युतीकरण र संस्थागत समन्वय गरी छवटा नीतिगत आधारस्तम्भ प्रस्ताव गरेको छ।
अध्ययन प्रस्तुत गर्दै सिंहले सरोकारवालाबाट प्राप्त सुझाव र प्रतिक्रियाका आधारमा यी आधारस्तम्भ तथा प्रतिवेदनका निष्कर्षलाई थप परिमार्जन गर्न सकिने बताए।
कार्यक्रममा सहभागीहरूले अध्ययनलाई अझ प्रभावकारी बनाउन विभिन्न सुझाव दिएका थिए। सांसद गीता गुरुङले इभीको ब्याट्री विसर्जन र पुनर्बिक्री मूल्य सम्बन्धी विषयलाई पनि नीतिगत छलफलमा समेट्नुपर्नेमा जोड दिइन्।
त्यस्तै, सोटेनका हरेराम श्रेष्ठले सरकारी सवारीसाधनलाई शतप्रतिशत इभीमा रूपान्तरण गर्ने विषयसँगै वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
इसिमोडका सागर अधिकारीले भने भारी सवारीसाधनलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्ने रेट्रोफिटिङको विषयलाई पनि अध्ययनमा समेट्नुपर्ने सुझाव दिए।
नासा नेपालले अध्ययनलाई नेपालमा इभीको वर्तमान अवस्था र आगामी नीतिका लागि प्रारम्भिक आधारका रूपमा लिएको जनाएको छ। विशेषज्ञ तथा सरोकारवालाबाट प्राप्त सुझावलाई समेटेर अध्ययनको अन्तिम निष्कर्ष र सिफारिसलाई थप प्रभावकारी बनाइने नासा नेपालले जनाएको छ।
एफआईए सेफ एन्ड सस्टेनेबल मोबिलिटी ग्रान्टको सहयोगमा सञ्चालित ‘ईभिजन नेपालः ड्राइभिङ द फ्युचर’ कार्यक्रमअन्तर्गत अध्ययन गरिएको हो।
कार्यक्रमअन्तर्गत अध्ययनसँगै चारवटा क्षेत्रीय नीति संवाद, एउटा राष्ट्रिय कार्यशाला र ९० जना पत्रकारलाई तालिम दिने योजना रहेको छ।
प्रत्यक्ष कार्यक्रम, सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत करिब एक लाख मानिससम्म इभीसम्बन्धी जनचेतना तथा जानकारी पुर्याउने लक्ष्यसमेत राखिएको आयोजकले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्