काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि सकारात्मक नभएको चेम्बरको भनाइ छ।
हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा होटलमा आवश्यकताभन्दा बढी ग्यास मौज्दात रहेको पाइएको भन्दै टिप्पणी सार्वजनिक भएको थियो। त्यसप्रति प्रतिक्रिया जनाउँदै चेम्बरले पाँचतारे होटलमा दैनिक करिब ५० देखि ६० वटासम्म ग्यास सिलिन्डर खपत हुनु स्वाभाविक रहेको स्पष्ट पारेको हो।
चेम्बरका अनुसार होटलमा करिब २०० वटा ग्यास सिलिन्डर मौज्दात रहनु पनि होटलको सञ्चालनको आकार र दैनिक खपतलाई हेर्दा अस्वाभाविक मान्न मिल्दैन। व्यावसायिक प्रयोजनका लागि आवश्यक मौज्दातलाई मात्र आधार बनाएर त्यसलाई अस्वाभाविक वा गैरकानुनी गतिविधिसँग जोडेर निष्कर्ष निकाल्नु उपयुक्त नहुने चेम्बरले जनाएको छ।
अवैध गतिविधिको समर्थन नगर्ने स्पष्टता
नेपाल चेम्बर अफ कमर्सले कृत्रिम अभाव, अवैध कारोबार तथा कानुनविपरीतका कुनै पनि गतिविधिको समर्थन नगर्ने स्पष्ट पारेको छ। तर वैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई हतोत्साहित गर्ने गरी अतिरञ्जित प्रचार गरिए त्यसले लगानीको वातावरणमा नकारात्मक असर पार्न सक्ने चेम्बरको भनाइ छ।
होटल तथा पर्यटन व्यवसायसहित अन्य उद्योग तथा व्यवसायसँग सम्बन्धित आपूर्ति, नियमन वा अन्य समस्या देखिए सम्बन्धित निकायले व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग संवाद र समन्वय गरी समाधान खोज्नुपर्नेमा चेम्बरले जोड दिएको छ।
चेम्बरले आवश्यक नियमन कायम राख्दै वैध लगानी र व्यावसायिक सञ्चालनलाई सहजीकरण गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याएको छ। तथ्यमा आधारित सूचना, जिम्मेवार अभिव्यक्ति तथा सरोकारवालाबीचको संवादबाट मात्रै पर्यटन तथा आतिथ्य क्षेत्रको विश्वास, प्रतिष्ठा र दिगो विकास सुनिश्चित गर्न सकिने चेम्बरको धारणा छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्