काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सचेतक खुश्बु ओलीले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले हिन्दु धर्मबारे दिएको अभिव्यक्तिको स्वागत गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै ओलीले देउवाको अभिव्यक्तिले नेपालका हिन्दु तथा सनातनी समुदायमा नयाँ आशा र विश्वास जगाएको दाबी गरेकी छन् । सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्ने आफ्नो पार्टीको धारणा र देउवाको व्यक्तिगत अभिव्यक्तिले गम्भीर राजनीतिक अर्थ बोकेको उनको भनाइ छ ।
नेपालको मौलिक सभ्यता, संस्कृति, परम्परा र सनातन पहिचानको सम्मान गर्ने आवाज जहाँबाट आए पनि स्वागत गर्नुपर्ने ओलीले बताएकी छन् ।
यसअघि कांग्रेस इतरपक्षको राष्ट्रिय भेलाको समापनका क्रममा देउवाले आफू व्यक्तिगत रूपमा हिन्दु भएको बताएका थिए । उनले आफ्नो व्रतबन्ध तथा विवाह हिन्दु परम्पराअनुसार भएको र आफू पशुपति जाने तथा पूजा गर्ने गरेको उल्लेख गरेका थिए । देउवाले धार्मिक स्वतन्त्रता हुनुपर्ने धारणा पनि राखेका थिए ।
सनातन धर्मबारे राष्ट्रिय बहसको माग
ओलीले देउवाको अभिव्यक्तिसँगै नेपालमा सनातन धर्म र राष्ट्रिय पहिचानबारे खुला बहस सुरु भएको दाबी गरेकी छन् ।
उनले राष्ट्रिय बहसविनै नेपाललाई धर्मनिरपेक्ष बनाइएको जिकिर गर्दै अब राष्ट्रिय राजनीति ‘कोर्स करेक्सन’तर्फ अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् ।
ओलीका अनुसार व्यक्तिगत आस्था फरक हुन सक्ने भए पनि राष्ट्रिय पहिचान साझा विषय हो । नेपालको सनातन पहिचानबारे अब इमानदार राष्ट्रिय बहस आवश्यक रहेको उनले बताएकी छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्