काठमाडौं । मोरक्को प्रहरीले शनिबार (अगस्ट १५) स्पेनको उत्तरी अफ्रिकी भूभाग सेउता प्रवेश गर्ने प्रयास गरिरहेका २९४ जना प्रवासीलाई नियन्त्रणमा लिएको छ।
मोरक्कोको सञ्चारमाध्यमका अनुसार सेउतातर्फ अवैध रूपमा प्रवेश गर्ने प्रयास रोक्न गरिएको नियमित सुरक्षा कारबाहीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
यसै साता मोरक्को प्रशासनले अगस्ट १५ मा सामूहिक रूपमा सीमा पार गर्न आह्वान गरिएका सामाजिक सञ्जालका पोस्ट तथा सन्देशमाथि निगरानी बढाएको थियो। सेउता र पूर्वतर्फ रहेको अर्को स्पेनी भूभाग मेलिलाको आसपास मोरक्कोले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो। विभिन्न स्थानमा चेकपोइन्टसमेत स्थापना गरिएको थियो।
यसअघि जुलाई ३० देखि ३१ सम्म ठूलो संख्यामा प्रवासीले सेउता प्रवेश गर्ने प्रयास गरेका थिए। मोरक्कोसँग सीमा जोडिएको सेउता स्पेनको उत्तरी अफ्रिकास्थित भूभाग हो। उक्त घटनापछि स्पेनले ठूलो संख्यामा प्रवासीलाई मोरक्कोतर्फ फिर्ता पठाएको थियो।
प्रवासीको आवागमनलाई लिएर स्पेन र युरोपेली संघका अन्य देशबीच समेत तनाव बढेको थियो। स्पेनको गृह मन्त्रालयले आवश्यक परेसम्म सेउतामा सुरक्षाकर्मी तैनाथ रहने जनाएको छ।
समाचार संस्था एएफपीका अनुसार पछिल्लो सुरक्षा कारबाही सीमा पार गरेर सेउता प्रवेश गर्ने प्रयास रोक्न नियमित रूपमा सञ्चालन गरिएको अभियानको हिस्सा हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्