काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका असन्तुष्टि र आन्तरिक विवादलाई सामाजिक सञ्जाल तथा सार्वजनिक मञ्चमा लैजाने प्रवृत्तिप्रति कडा आपत्ति जनाएका छन्।
आइतबार साउन ३१ गते झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीका आन्तरिक विषयमा असहमति भए सम्बन्धित कमिटीमा छलफल गर्नुपर्ने बताए।
उनले पार्टीको विधि, पद्धति र विधानभन्दा बाहिर गएर नेतृत्व परिवर्तनको अभियान चलाउने वा सामाजिक सञ्जालमार्फत दबाब सिर्जना गर्ने कार्यलाई अनुशासनहीनता र अराजकताका रूपमा व्याख्या गरे।
‘अध्यक्ष हट्नुपर्छ भन्ने कसैलाई लाग्छ भने पार्टीका सम्बन्धित कमिटीमा छलफल गर्नुपर्छ,’ ओलीले भने, ‘सामाजिक सञ्जालमा लेखेर वा बाहिर हस्ताक्षर संकलन गरेर अध्यक्ष हटाउने शैली पार्टीमा स्वीकार्य हुँदैन। त्यो अनुशासनहीनता र अराजकता हो।’
‘पार्टीभित्र लोकतन्त्र छ’
ओलीले एमालेभित्र आफ्ना विचार राख्ने, नेतृत्वको आलोचना गर्ने र असहमति व्यक्त गर्ने अधिकार सबै सदस्यलाई रहेको बताए।
तर असहमति राख्ने पनि निश्चित विधि र मर्यादा हुनुपर्ने उनको भनाइ छ।
उनले पार्टीका आन्तरिक विषयलाई सार्वजनिक रूपमा विवादको विषय बनाएर पार्टीलाई कमजोर पार्ने गतिविधि स्वीकार्य नहुने बताए।
‘कसैलाई नेतृत्वको विचार वा कामप्रति असहमति छ भने खुला रूपमा आन्तरिक छलफल गर्न पाइन्छ,’ ओलीले भने, ‘पार्टीको सदस्य भएर बाहिर बजारमा तमासा गर्ने, विरोधीलाई हँसाउने र पार्टीलाई कमजोर बनाउने काम उचित होइन।’
उनले एमाले अराजक र अनुशासनहीन पार्टी नभएको भन्दै नीति, विधि र विधानअनुसार अघि बढ्नुपर्नेमा जोड दिए।
पार्टीभित्रको सम्बन्ध र नेतृत्व परिवर्तनको विषयलाई स्पष्ट पार्न ओलीले विवाह र सम्बन्ध विच्छेदको उदाहरणसमेत दिएका थिए।
उनका अनुसार विवाहजस्तो सम्बन्धबाट अलग हुनसमेत निश्चित कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। त्यसैगरी पार्टीभित्र कुनै विषयमा असहमति भए पनि निर्धारित विधि र प्रक्रियामार्फत समाधान खोजिनुपर्ने उनको तर्क थियो।
उनले पार्टीमा कसैलाई कुनै कुरा मन नपरे परिवर्तन गर्ने वा अलग हुने अधिकार भए पनि त्यसका लागि संस्थागत प्रक्रिया पालना गर्नुपर्ने बताए।
‘आलोचना सुन्न तयार छु’
ओलीले आफू पार्टी अध्यक्षका रूपमा हुने आलोचना सुन्न तयार रहेको पनि बताए।
पार्टीमा कमजोरी भए त्यसलाई सच्याउनुपर्ने र गल्ती भए हटाउनुपर्ने भन्दै उनले नेतृत्व तहमा रहेका नेताहरूले आफ्नो आचरण र व्यवहार सुधार गर्नुपर्ने बताए।
‘आलोचना गर्न सबैलाई अधिकार छ, म आलोचना सुन्न तयार छु,’ ओलीले भने, ‘पार्टीमा कमी–कमजोरी छन् भने सच्याउनुपर्छ, गल्ती छन् भने हटाउनुपर्छ।’
उनले विशेषगरी नेतृत्व तहमा रहेका व्यक्तिहरूको आचरण र व्यवहार पार्टीको नीति तथा अनुशासनअनुकूल हुनुपर्ने बताए।
एमालेभित्र पछिल्लो समय पार्टीको पुनर्गठन, नेतृत्वको कार्यशैली र संगठन सञ्चालनबारे विभिन्न तहमा बहस चलिरहेका बेला अध्यक्ष ओलीको यस्तो अभिव्यक्ति आएको हो।
ओलीले भने पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई अस्वीकार नगरेको तर असहमति व्यक्त गर्ने नाममा सार्वजनिक रूपमा हस्ताक्षर अभियान चलाउने, सामाजिक सञ्जालमा पार्टीका आन्तरिक विषय छरपस्ट पार्ने वा नेतृत्वविरुद्ध सार्वजनिक दबाब सिर्जना गर्ने शैली स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
उनको भनाइले एमालेभित्र बढिरहेको नेतृत्व र संगठनसम्बन्धी बहसलाई संस्थागत कमिटीभित्रै सीमित राख्ने नेतृत्वको चाहना पनि देखाएको छ।
यससँगै पार्टीभित्र आलोचना र असहमतिको अधिकार तथा संगठनात्मक अनुशासनबीचको सीमाबारे एमालेभित्र थप बहस हुने संकेत देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्