लहान, १ भदौ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता धनगढीमाईस्थित महेन्द्र गेनाई अस्पताल र लहानस्थित रामकुमार–शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको ट्रमा युनिट अवलोकनका लागि लहान पुग्दा रास्वपाका नेता–कार्यकर्ता तथा अस्पताल परिवारले फूलमाला र खादा लगाएर स्वागत गर्नुभएको छ ।
तर, मन्त्रीको स्वागत भइरहेका बेला धनगढीमाई नगरपालिका–१४ मागनका एक बिरामीलाई उपचारका लागि डोलीमा बोकेर अस्पताल ल्याउनुपरेको घटनाले दुर्गम बस्तीमा स्वास्थ्य सेवाको पहुँचमाथि प्रश्न उठाएको छ ।
घाँटी दुख्ने र ज्वरो आउने समस्याले सिकिस्त भएका ‘लाहुरे आले’लाई आफन्तले डोलीमा बोकेर गोलबजार अस्पतालतर्फ लगेका थिए । नगरपालिकाको केन्द्र पूर्व–पश्चिम राजमार्गसँग जोडिए पनि वडा नम्बर १३ र १४ का उत्तरी क्षेत्रका बस्तीहरू भौगोलिक रूपमा विकट मानिन्छन् ।
स्थानीयका अनुसार ती बस्तीमा सामान्य स्वास्थ्य उपचारका लागि समेत सहज पहुँच छैन । बिरामी पर्दा घण्टौँ हिँड्नुपर्ने र कतिपय अवस्थामा डोलीमा बोकेर अस्पताल पुर्याउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ ।
स्थानीयवासीले सडक, खानेपानी र विद्युत्को समस्यासमेत झेल्दै आएका छन् । कतिपय बस्तीमा सडक सञ्जाल नपुगेको, खोलाको पानी प्रयोग गर्नुपर्ने तथा बिजुलीको सहज पहुँच नभएको उनीहरू बताउँछन् । वर्षायाममा खोलानाला र बाटोका कारण स्वास्थ्य संस्थासम्म पुग्न झनै कठिन हुने गरेको छ ।
स्थानीयका अनुसार बिजुली पुगेका ठाउँमा समेत सामान्य विद्युत् महसुल तिर्नका लागि टाढा जानुपर्ने बाध्यता छ । आधारभूत पूर्वाधारको अभावले बिरामीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउन समस्या भइरहेको उनीहरूको भनाइ छ ।
यसैबीच, मन्त्री मेहता अस्पतालको ट्रमा युनिट अवलोकन गर्न पुग्दा भएको भव्य स्वागत र केही किलोमिटर पर बिरामीलाई डोलीमा बोकेर अस्पताल लैजानुपरेको दृश्यले स्वास्थ्य सेवाको पहुँच र राज्यको प्राथमिकताबारे बहस सिर्जना गरेको छ ।
स्थानीयवासीले अस्पतालमा सेवा विस्तारसँगै दुर्गम बस्तीबाट स्वास्थ्य संस्थासम्म पुग्ने सडक, यातायात र आधारभूत स्वास्थ्य पूर्वाधार निर्माणमा समेत सरकारले ध्यान दिनुपर्ने माग गरेका छन् ।
धनगढीमाई–१४ का स्थानीयले वर्षौंदेखि सडक, खानेपानी, विद्युत् र स्वास्थ्य सेवाको समस्या भोग्दै आएको बताएका छन् । उनीहरूले आश्वासनभन्दा समस्याको दीर्घकालीन समाधान खोज्न सरकार र जनप्रतिनिधिसँग आग्रह गरेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्