काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले क्यानडा सुपर–६० को दोस्रो सिजन खेल्ने भएकी छन्। उनलाई टोरेन्टो सिक्सर्सले टोलीमा अनुबन्ध गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएको हो।
इन्दु पहिलोपटक क्यानडा सुपर–६० मा सहभागी हुन लागेकी हुन्। यससँगै उनी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेटर बन्नेछिन्। टोरेन्टो सिक्सर्सले इन्दुलाई टोलीमा समावेश गरेको घोषणा गरेपछि नेपाली क्रिकेटमा यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
क्यानडा सुपर–६० को दोस्रो सिजन आगामी सेप्टेम्बर २९ देखि अक्टोबर ४ सम्म क्यानडामा आयोजना हुँदैछ। प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहने बताइएको छ।
टी–२० स्वरूपमा आयोजना हुने क्यानडा सुपर–६० ले क्यानडामा क्रिकेटको विकाससँगै नयाँ तथा प्रतिभाशाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दै आएको छ।
नेपाली महिला क्रिकेट टोलीकी कप्तानका रूपमा इन्दुले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएकी छन्। क्यानडा सुपर–६० मा उनको सहभागिताले नेपाली महिला क्रिकेटलाई थप अन्तर्राष्ट्रिय एक्सपोजर मिल्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्