काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको प्रथम महाधिवेशन सम्पन्न भएसँगै पार्टी समायोजनको सम्पूर्ण प्रक्रिया पूरा भएको बताएका छन्।
क्यान्डिडेट क्लबको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टीभित्र अब कुनै गुट वा उपगुट नरहेको दाबी गरे। उनले रास्वपा एउटै नेतृत्व र एउटै संगठनका रूपमा अघि बढ्ने बताए।
“एउटा रास्वपा छ, एउटा लिडर छ, फरक–फरक छैन,” लामिछानेले भने।
उनले पार्टीका कुनै सदस्यले आफूलाई कुनै गुटको सदस्यका रूपमा प्रस्तुत गर्न नहुने बताए। गुटबन्दीले पार्टीलाई बलियो बनाउने नभई अनावश्यक विवाद र मनोरञ्जनबाहेक केही नदिने उनको टिप्पणी थियो।
“कसैले आफूलाई कुनै गुटको सदस्य हुँ भनेर दाबी नगर्नुहोस्। यसले मनोरञ्जनबाहेक केही पनि ल्याउँदैन,” उनले भने।
‘विशेष परिस्थितिका कारण प्राइमरी इलेक्सन गर्न सकिएन’
लामिछानेले विशेष परिस्थितिका कारण पार्टीले यसपटक ‘प्राइमरी इलेक्सन’ गर्न नसकेको बताए।
रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया अघि बढाउन सोमबारदेखि ‘क्यान्डिडेट क्लब’ सुरु गरेको छ।
क्यान्डिडेट क्लबमार्फत स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन्। पार्टीका अनुसार पहिलो चरणमा गाउँपालिकाका लागि आवेदन खुला गरिनेछ भने नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका लागि पछि आवेदन आह्वान गरिनेछ।
उम्मेदवार खोज्न ‘क्यान्डिडेट क्लब’
रास्वपाले क्यान्डिडेट क्लबलाई आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार पहिचान तथा छनोट गर्ने संरचनाका रूपमा अघि बढाएको छ।
पार्टीका अनुसार क्लबमा आवेदन दिने इच्छुक व्यक्तिको क्षमता, योग्यता र सम्भावनाको मूल्याङ्कन गरिनेछ। छनोट प्रक्रियामा सहभागी हुने सम्भावित उम्मेदवारलाई पार्टीले आवश्यक तालिम, मार्गदर्शन तथा निर्वाचनसम्बन्धी तयारी गराउनेछ।
त्यसपछि योग्य तथा उपयुक्त ठहरिएका व्यक्तिलाई सम्बन्धित स्थानीय तहको निर्वाचनका लागि पार्टीको आधिकारिक उम्मेदवार बनाउने प्रक्रिया अघि बढाइनेछ।
स्थानीय चुनावलाई लक्षित गर्दै संगठन विस्तार
रास्वपाले पहिलो महाधिवेशनपछि संगठनात्मक संरचना व्यवस्थित गर्दै आगामी निर्वाचन केन्द्रित गतिविधि तीव्र पार्न थालेको छ।
क्यान्डिडेट क्लबको सुरुवातलाई पार्टीले परम्परागत शैलीभन्दा फरक ढंगबाट उम्मेदवार पहिचान गर्ने प्रयासका रूपमा अघि सारेको छ।
सभापति लामिछानेले पार्टीभित्र एकता कायम राख्दै संगठनलाई निर्वाचनका लागि तयार पार्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार पार्टीको नेतृत्व र संगठन एउटै उद्देश्यका साथ अघि बढे मात्र रास्वपाले आगामी निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न सक्नेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्