ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाका सडकमा तार व्यवस्थापन अभियान तीव्र, बन्डलिङ भए पनि ट्यागिङ र फिनिसिङमा समस्या


ABC NEWS
१ भदौ २०८३, सोमबार   ८ : ४५   बजे

काठमाडौँ। काठमाडौँ उपत्यकाका प्रमुख शहरी क्षेत्रमा सडक किनारका पोलमा झुन्डिएका तथा प्रयोगविहीन तार व्यवस्थापन गर्ने अभियानले गति लिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो अनुगमनअनुसार अधिकांश प्राथमिकता प्राप्त मार्गमा तार बन्डलिङको काम सम्पन्न भएको छ।

तर खुला तार हटाउने, केबल लूप व्यवस्थापन गर्ने, सेवा प्रदायकको पहिचान खुल्ने ट्याग राख्ने र अन्तिम फिनिसिङ गर्ने काम भने अझै पूर्ण हुन सकेको छैन। अव्यवस्थित तारका कारण शहरी सौन्दर्यमा असर पर्नुका साथै आगलागी, दुर्घटना र सडक सुरक्षामा जोखिम बढेपछि सरकारले तार व्यवस्थापनलाई प्राथमिकतामा राखेको हो।

पहिलो चरणमा त्रिपुरेश्वर–कलंकी–कालीमाटी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–जमल–लाजिम्पाट, सामाखुसी–टाउन प्लानिङ–गोंगबु, कीर्तिपुर तथा पुरानो बानेश्वर–चाबहिल–गौशाला क्षेत्रलाई प्राथमिकतामा राखिएको थियो।

अभियानलाई व्यवस्थित बनाउन प्राधिकरणले जेठ २९ गते विशेष उपसमिति गठन गरेको थियो। उपसमितिमा दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी कार्यालय, इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान), नेपाल टेलिकम र एनसेल आजियाटाका प्रतिनिधि छन्।

प्राधिकरणले सेवा प्रदायकलाई आफ्ना तारमा पहिचान खुल्ने ट्याग अनिवार्य गर्न तथा प्रयोगविहीन तार हटाउन निर्देशन दिएको छ। काममा अपेक्षित गति नदेखिएपछि प्रत्येक मार्गमा ‘लिड अपरेटर’ र फोकल पर्सन तोकेर नियमित अनुगमनसमेत सुरु गरिएको छ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा असार ३१ र साउन १५ गते उच्चस्तरीय समीक्षा बैठक बसेपछि सेवा प्रदायकबीच जिम्मेवारी पुनः बाँडफाँट गरिएको थियो। परिमार्जित कार्ययोजनामा कुन कम्पनीले कुन क्षेत्रमा नेतृत्व गर्ने, कति दूरी र पोलमा काम गर्ने तथा कति जनशक्ति परिचालन गर्ने भन्ने विषयसमेत स्पष्ट पारिएको छ।

प्राधिकरणका अनुसार जडीबुटी क्षेत्रमा तार बन्डलिङ सम्पन्न भए पनि अन्तिम फिनिसिङ कमजोर छ। ट्यागिङ पनि पर्याप्त भएको छैन। बानेश्वर क्षेत्रमा भने अधिकांश खुला तथा लत्रिएका तार हटाइएकाले अवस्था तुलनात्मक रूपमा सन्तोषजनक देखिएको छ। यद्यपि केही स्थानमा ट्याग छुटेका वा च्यातिएका छन्।

सामाखुसी क्षेत्रमा बन्डलिङ भए पनि केबल लूप र फिनिसिङमा सुधार आवश्यक देखिएको छ। लाजिम्पाट–त्रिपुरेश्वर मार्गमा अधिकांश तार बन्डलिङ गरिए पनि केही खुला तार बाँकी छन्। त्रिपुरेश्वर–कलंकी क्षेत्रमा तुलनात्मक रूपमा राम्रो प्रगति भएको र अधिकांश भागमा बन्डलिङ सम्पन्न भएको प्राधिकरणले जनाएको छ। कीर्तिपुरमा पनि अधिकांश तार बन्डलिङ भए पनि खुला तार र अपूर्ण ट्यागिङको समस्या कायमै छ।

अनुगमनका क्रममा सबैजसो क्षेत्रमा देखिएको साझा समस्या केबल लूप व्यवस्थापन रहेको प्राधिकरणले जनाएको छ। सेवा विस्तार वा मर्मतका लागि अतिरिक्त केबल राखिए पनि त्यसलाई व्यवस्थित नगर्दा बन्डलिङपछि पनि पोल अव्यवस्थित देखिने गरेको छ।

त्यस्तै, सेवा प्रदायकको पहिचान खुल्ने ट्याग नहुँदा भविष्यमा बिग्रिएका वा प्रयोगविहीन तार पहिचान गर्न कठिन हुने प्राधिकरणको निष्कर्ष छ। त्यसैले अब बन्डलिङलाई मात्र प्रगतिको आधार नमानिने र प्रत्येक मार्गको अन्तिम निरीक्षण गरी खुला तार हटाउने, लूप व्यवस्थापन गर्ने, ट्यागिङ पूरा गर्ने तथा फिनिसिङ सुधार गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

दीर्घकालीन रूपमा समस्या समाधान गर्न साझा पूर्वाधार र भूमिगत युटिलिटी डक्ट निर्माण गर्नुपर्ने सुझावसमेत दिइएको छ। नयाँ तार थपिँदै जाने तर पुराना तथा प्रयोगविहीन तार समयमै नहटाउने प्रवृत्ति अन्त्य गरी नियमित अनुगमन र स्पष्ट जिम्मेवारीसहितको प्रणाली विकास गर्नुपर्नेमा प्राधिकरणले जोड दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उपसभामुख रुबी ठाकुरद्वारा पत्रकार किशोर श्रेष्ठविरुद्ध जाहेरी

पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण मुद्दामा बहस सकियो, फैसला तयारीमा

सम्बन्धित

‘मेरो अनुहारका कारण भोट आएन भने मलाई हराएर नेतृत्व लिनुस्’ : गगन थापा

हर्क साम्पाङको प्रस्ताव : ‘नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा प्रणाली लागू गरौँ’

हेटौंडा सिमेन्ट उद्योग संकटमा : ‘एक वर्षदेखि तलब छैन, कर्मचारीको मृत्यु हुन थाल्यो’

रास्वपा सांसद गेलालको मन्त्रीलाई सुझाव : ‘देश घुम्नुभन्दा मन्त्रालयमै बसेर समस्या समाधान गर्नुस्’

बलेवा कालभैरव : आस्था, परम्परा र कृषिसंस्कृतिको संगम बनेको हरेलो मेला

‘हजारौँलाई जेल लान सक्छु’ भनेपछि इन्दिरा रानामगरलाई सभामुखको चेतावनी : ‘विषयवस्तुबाट बाहिर जानुभयो’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu