काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले आफूविरुद्ध सामाजिक सञ्जालमा झुटा तथा अपमानजनक आरोप लगाइएको भन्दै प्रतिनिधिसभामा आपत्ति जनाएकी छन्। उनले आफूले चाहेमा हजारौँ व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन सक्ने चेतावनीसमेत दिएपछि सभामुखले उनलाई विषयवस्तुबाट बाहिर नजान सचेत गराएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै रानामगरले महिला मात्र नभई पुरुष, युवा तथा बालबालिकालाई समेत संरक्षणको दायरामा समेट्ने गरी सम्बन्धित विधेयक अघि बढाउनुपर्ने धारणा राखिन्।
त्यसक्रममा उनले आफूविरुद्ध प्रमाणबिनै सामाजिक सञ्जालमार्फत आरोप लगाइएको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरिन्।
“आज म चुनौती दिन्छु, म अहिले लाने भने हजारौँ जनालाई म जेल लान सक्छु। तर म गर्दिनँ,” रानामगरले भनिन्।
उनले राज्यको स्रोत व्यक्तिगत विवादमा प्रयोग गर्न आफू इच्छुक नरहेको बताउँदै आफूविरुद्ध लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिइन्।
“एक पैसा पनि सरकारको मेरो नाममा म यो खर्च गर्न चाहन्न। तर म चुनौती दिन्छु,” उनले भनिन्।
सभामुखले रोके
रानामगरको अभिव्यक्ति मूल विषयबाट बाहिर गएको भन्दै सभामुखले उनलाई सचेत गराएका थिए।
सभामुखले भने, “माननीय सदस्य, विषयवस्तुबाट बाहिर जानुभयो।”
तर रानामगरले भने आफूले उठाएको विषय सम्बन्धित विधेयक र आफ्नो सार्वजनिक जीवनसँग जोडिएको भन्दै आफ्नो भनाइ विषयवस्तुभन्दा बाहिर नरहेको जिकिर गरिन्।
‘झुटा आरोप प्रमाणित गर्नुपर्छ’
रानामगरले सामाजिक सञ्जालमा प्रमाणबिना व्यक्तिको चरित्रमाथि प्रश्न उठाउने र अपमानजनक आरोप लगाउने प्रवृत्तिप्रति आपत्ति जनाइन्।
उनले आफूविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिँदै प्रमाणबिना आरोप लगाउने प्रवृत्तिले समाजमा नकारात्मक असर पार्ने बताइन्।
महिला, पुरुष, युवा तथा बालबालिकाको संरक्षणसँग सम्बन्धित कानुनी व्यवस्था प्रभावकारी बनाउनुपर्ने धारणा राख्दै उनले विधेयकलाई व्यापक र सबै वर्गलाई समेट्ने गरी अघि बढाउनुपर्नेमा जोड दिइन्।
प्रतिनिधिसभाको बैठकमा रानामगरको ‘हजारौँलाई जेल लान सक्छु’ भन्ने अभिव्यक्तिपछि भने उनको भनाइ र सभामुखको हस्तक्षेपले केही समय सदनको ध्यान तानेको थियो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्