काठमाडौं । नेपालमा विद्युत् उत्पादन क्षमता तीव्र गतिमा बढे पनि आन्तरिक विद्युत् खपत भने अपेक्षाकृत विस्तार हुन नसकेको देखिएको छ। नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक विद्युत् खपत वृद्धि ९.२७ प्रतिशतमा सीमित भएको छ।
प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७३/७४ देखि २०८२/८३ सम्म एक दशकमा आन्तरिक विद्युत् खपत औसत १२.९८ प्रतिशतले मात्रै बढेको छ। उत्पादन क्षमता भने यही अवधिमा तीव्र गतिमा विस्तार भएको छ।
आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता ४ हजार १२० मेगावाट पुगेको छ। एक वर्षमै राष्ट्रिय प्रणालीमा ५२९ मेगावाट उत्पादन क्षमता थपिएको प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए।
उत्पादन बढे पनि उद्योग, सिँचाइ, विद्युतीय यातायात, विद्युतीय खाना पकाउने प्रविधि, कृषि प्रशोधनलगायत उत्पादनशील क्षेत्रमा विद्युत्को प्रयोग अपेक्षाकृत बढ्न सकेको छैन। यसले आन्तरिक खपत विस्तारलाई चुनौतीपूर्ण बनाएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका विद्युत् ग्राहकको संख्या आर्थिक वर्ष २०८२/८३ मा ५९ लाख २७ हजार पुगेको छ। कुल ग्राहकमध्ये घरेलु ग्राहकको हिस्सा ९०.६४ प्रतिशत छ भने औद्योगिक ग्राहकको हिस्सा १.२० प्रतिशत मात्रै रहेको छ।
यसैबीच विद्युत् चुहावट भने घटेको छ। गत आर्थिक वर्षमा चुहावट १२.१६ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यस्तो चुहावट १२.२६ प्रतिशत थियो।
तर प्राधिकरणको खुद नाफा भने घटेको छ। आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा ८ अर्ब ९१ करोड रुपैयाँ रहेको नाफा एक वर्षमा ३ अर्ब ८७ करोड रुपैयाँले घटेको हो।
विद्युत् बिक्रीबाट हुने आम्दानी भने बढेको छ। गत आर्थिक वर्षमा प्राधिकरणले विद्युत् बिक्रीबाट १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२० प्रतिशत बढी हो।
उत्पादन क्षमता बढेसँगै विद्युत् निर्यात पनि उल्लेख्य बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालले २९ अर्ब ३२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ भने १० अर्ब ५६ करोड रुपैयाँको विद्युत् आयात गरेको छ। विद्युत् निर्यात अघिल्लो वर्षको तुलनामा ६८ प्रतिशतले बढेको प्राधिकरणले जनाएको छ।
आन्तरिक खपत बढाउन प्राधिकरणले उद्योग, विद्युतीय यातायात, सिँचाइ, कृषि तथा हरित हाइड्रोजनमा विद्युत्को प्रयोग विस्तार गर्ने योजना अघि सारेको छ। हेटौंडामा २.५ मेगावाट क्षमताको इलेक्ट्रोलाइजर स्थापना गरी हरित अमोनिया तथा मिथानोल विकास गर्ने योजना पनि अघि बढाइएको छ।
प्राधिकरणका लागि अबको मुख्य चुनौती थप विद्युत् उत्पादन गर्नु मात्रै नभई उत्पादन भएको विद्युत्लाई स्वदेशमै उत्पादनशील क्षेत्रमा खपत गराउनु बनेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्