काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त कुलपति ब्रजेश खनाल नेतृत्वको टोलीले राजधानीका ६ वटा नाटकघरमा पुगेर रंगकर्मीहरूसँग प्रत्यक्ष परामर्श गरेको छ।
नाट्य विभाग प्रमुख प्राज्ञ सरस्वती चौधरी, रंगमञ्च विभाग प्रमुख प्राज्ञ जीतबहादुर देउजा तथा प्राज्ञ सभासदस्यसहितको टोलीले विभिन्न नाटकघरमा पुगेर रंगकर्मीका समस्या, आवश्यकता र आगामी दिनमा प्रतिष्ठानले लिनुपर्ने नीतिबारे सुझाव संकलन गरेको हो।
प्रतिष्ठानको पाँचौँ कार्यकालसम्म आइपुग्दा नेतृत्व स्वयं नाटकघरमै पुगेर रंगकर्मीसँग परामर्श गरेको यो पहिलोपटक भएको भन्दै रंगकर्मीहरूले खुसी व्यक्त गरेका छन्।
सर्वनाम थिएटरका वरिष्ठ निर्देशक अशेष मल्ल, शिल्पी थिएटरका कलाकार तथा निर्देशक घिमिरे युवराज, मण्डला थिएटरका अभिनेता दयाहाङ राईदेखि आफ्नै थिएटर सञ्चालन गर्दै आएका कलाकार सुरज तमुलगायतले प्रतिष्ठानको टोली आफ्नो कार्यस्थलमै आएकोमा सकारात्मक प्रतिक्रिया दिएका थिए।
‘आज हामीलाई आफ्नो देखेर राज्य हाम्रो दैलोमा आउनु हाम्रो लागि नितान्त नयाँ र अत्यन्त सुखद अनुभव रह्यो,’ उनीहरूको भनाइ थियो।
बाल नाटकदेखि संस्थागत रंगमञ्चसम्मका आवाज
१८ वर्षदेखि बाल नाटक महोत्सवलाई निरन्तरता दिँदै आएको शैली थिएटरका नवराज बुढाथोकीले प्रतिष्ठानको टोली नाटकघरमै आएर कलाकारका कुरा सुन्नु महत्वपूर्ण सुरुवात भएको बताए।
उनले यसरी राज्यको प्रतिनिधित्व गर्ने संस्था आफ्नै ढोकामा आइपुग्दा आफूलाई पहिलोपटक ‘नाट्यकर्मी हुनुमा गर्व’ लागेको अनुभव सुनाए।
परामर्शका क्रममा रंगकर्मीहरूले प्रतिष्ठानको आगामी नीति, योजना तथा तत्काल कार्यान्वयन गर्नुपर्ने कार्यक्रमका विषयमा सुझाव दिएका थिए।
महिला, अपांगता र एलजीबीटीक्यूमैत्री एकेडेमीको माग
कौसी थिएटरका रंगकर्मी आकांक्षा कार्की र लुनिभा तुलाधरले प्रज्ञा–प्रतिष्ठानलाई **महिला, अपांगता भएका व्यक्ति तथा एलजीबीटीक्यू समुदायमैत्री ‘स्मार्ट एकेडेमी’**का रूपमा विकास गर्नुपर्ने सुझाव दिए।
उनीहरूले रंगमञ्चमा सबै समुदायको समान पहुँच र सहभागिता सुनिश्चित गर्ने गरी प्रशिक्षण, पूर्वाधार तथा अवसरको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए।
राजधानीबाहिर रंगमञ्च विस्तार गर्नुपर्ने
परामर्शमा सहभागी रंगकर्मीहरूले काठमाडौंमा मात्र सीमित रहेको रंगमञ्चलाई देशभर विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
नाटक निर्माण तथा प्रदर्शनमा संलग्न कलाकार र प्राविधिकको जीवनबिमा, अध्ययनका लागि छात्रवृत्ति, सिर्जनात्मक कामका लागि लेखनवृत्ति तथा कलाकारको सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइएको थियो।
त्यस्तै, नाटक निर्माणमा सहभागी कलाकार तथा प्राविधिकले राज्यले तोकेको न्यूनतम पारिश्रमिक पाउने सुनिश्चितताका लागि निर्माण पक्षसँग अग्रिम सम्झौता अनिवार्य गर्नुपर्ने मागसमेत उठेको छ।
रंगकर्मीहरूले कलाकारलाई सुविधा र सहुलियत उपलब्ध हुने गरी विशेष कलाकार परिचयपत्रको व्यवस्था गर्न तथा राज्यको स्वामित्वमा रहेका थिएटर हलमा नाटक प्रदर्शन गर्दा शुल्कमा छुट दिनुपर्ने सुझाव दिएका छन्।
सातै प्रदेशमा थिएटर निर्माणको अपेक्षा
रंगकर्मी प्रवीण खतिवडाले सरकारले सातवटै प्रदेशमा थिएटर निर्माणका लागि बजेट विनियोजन गरेको आफूले सुनेको उल्लेख गर्दै त्यस्तो पूर्वाधार निर्माणले निजी थिएटर नभएका स्वतन्त्र रंगकर्मीलाई पनि नाटक प्रदर्शन गर्ने अवसर सिर्जना गर्ने बताए।
उनका अनुसार राजधानीबाहिर पनि व्यवस्थित रंगमञ्चको पूर्वाधार तयार भएमा स्थानीय कलाकार र रंगकर्मीले आफ्नै क्षेत्रमा सिर्जना तथा प्रदर्शन गर्न सक्ने वातावरण बन्नेछ।
‘कार्यक्रम खर्च बढाउनुपर्छ’
शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजले प्रज्ञा–प्रतिष्ठानको कुल बजेटमा रहेको कार्यक्रम खर्चको हिस्सा बढाउनुपर्ने धारणा राखे।
उनले निजी तथा सामुदायिक नाट्यसंस्थाको संरक्षण गर्ने नीति बनाउनुपर्ने बताए। त्यसैगरी, हचुवाका भरमा आयोजना भइरहेका नाट्य महोत्सव तथा प्रशिक्षणलाई व्यवस्थित गर्दै तिनलाई बहुभाषिक र स्थानीय संस्कृतिमा आधारित बनाउनुपर्ने सुझाव दिए।
उनले प्रत्येक नाट्यसंस्थालाई वर्षमा कम्तीमा दुईवटा नाटक उत्पादन गर्न पुग्ने गरी अनुदान उपलब्ध गराउने नीति बनाउनुपर्ने मागसमेत राखे।
दयाहाङको सुझाव– नाटकको सैद्धान्तीकरण गरौँ
मण्डला थिएटरका चर्चित अभिनेता दयाहाङ राईले भने अन्य रंगकर्मीभन्दा फरक विषय उठाए।
मण्डला नाटकघरबाट मात्रै १५० भन्दा बढी नाटक र २०० भन्दा बढी कलाकार उत्पादन भइसकेको उल्लेख गर्दै राईले नेपालमा भइरहेका नाट्य गतिविधि र देशभर मञ्चन भइरहेका नाटकको व्यवस्थित अभिलेखीकरण तथा सैद्धान्तीकरण गर्न प्रज्ञा–प्रतिष्ठानले नेतृत्व लिनुपर्ने बताए।
नेपालको रंगमञ्चमा लामो समयदेखि भइरहेका सिर्जना, प्रयोग र अभ्यासलाई दस्तावेजीकरण गरी अध्ययन तथा अनुसन्धानको आधार बनाइनुपर्ने उनको भनाइ थियो।
‘प्रज्ञा–प्रतिष्ठानले आज ढोका खोलेको छ’
नवनियुक्त कुलपति ब्रजेश खनालले रंगकर्मीका सुझावलाई सकारात्मक रूपमा लिँदै प्रतिष्ठानले रंगमञ्च क्षेत्रसँगको सम्बन्ध नयाँ ढंगबाट अघि बढाउन चाहेको बताए।
‘प्रज्ञा–प्रतिष्ठानले आज ढोका खोलेको छ,’ खनालले भने।
उनले राजधानीका नाटकघर तथा देशभरका नाट्यसंस्थालाई आफ्ना गतिविधि र क्रियाकलापबारे नियमित रूपमा प्रतिष्ठानलाई जानकारी गराउन आग्रह गरे।
प्राप्त विवरणलाई नेपाल सरकारको आधिकारिक डेटाबेसमा अभिलेखीकरण तथा सुरक्षित गर्ने व्यवस्था मिलाइने उनको भनाइ थियो।
खनालले परामर्शका क्रममा प्राप्त सकारात्मक सुझावलाई प्राथमिकताका आधारमा द्रुत गतिमा सम्बोधन गर्ने प्रतिबद्धता जनाए।
प्रतिष्ठान नेतृत्व आफैँ नाटकघरमा पुगेर रंगकर्मीका कुरा सुन्न थालेपछि लामो समयदेखि पूर्वाधार, आर्थिक सुरक्षा, अभिलेखीकरण, प्रशिक्षण र राज्यको नीतिगत संरक्षणको माग गर्दै आएको नेपाली रंगमञ्चले अब ती विषय व्यवहारमा सम्बोधन हुने अपेक्षा गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्