मनाङ, भदौ ३ गते । मनाङ ङिस्याङ गाउँपालिका–३ ङावल र वडा नं ४ हुम्डे जोड्ने मोटरेबल पुल निर्माण सम्झौता भएको एक दशक बितिसक्दा पनि पूरा हुन सकेको छैन। मर्स्याङ्दी नदीमा निर्माणाधीन पुल समयमै नबन्दा स्थानीयवासी जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्।
पूर्वाधार कार्यालयका अनुसार पुल निर्माणका लागि ठेकेदार कम्पनीले सम्झौता रकमको करिब ७० प्रतिशत भुक्तानी लिइसकेको छ। तर निर्माणको प्रगति भने निकै सुस्त छ। कार्यालय प्रमुख हरि थापाका अनुसार पटक–पटक म्याद थपिए पनि पुलको काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन।
“भुक्तानी भइसकेको छ, तर पुलको बिम उठाउनेबाहेक अरू काम भएको देखिँदैन,” थापाले भने।
करिब चार करोड रुपैयाँ लागतमा निर्माण हुने गरी विसं २०७३ असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भएको थियो। उक्त पुल माथिल्लो मनाङ पुग्ने मुख्य सडकखण्डमा पर्छ।
स्थानीयवासीले भने पुल निर्माणमा ठेकेदारसँगै सम्बन्धित कार्यालयले समेत पर्याप्त चासो नदिएको गुनासो गरेका छन्। पुल बनेमा गाउँपालिका कार्यालय पुग्न चार–पाँच मिनेट मात्रै लाग्ने भए पनि अहिले नदी पार गर्न सहज पहुँच नहुँदा लामो समय खर्चिनुपरेको स्थानीय मुखिया लामाले बताए।
काममा ढिलाइ गर्ने निर्माण कम्पनीसँगको सम्झौता तोडेर नयाँ कम्पनीमार्फत निर्माण अघि बढाउन स्थानीयवासीले माग गरेका छन्। पुल नबन्दा गाउँपालिकाका अन्य विकास निर्माणका कामसमेत प्रभावित भएको उनीहरूको भनाइ छ।
जिल्ला अनुगमनका क्रममा मनाङका सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङले ठेकेदार कम्पनीलाई तत्काल निर्माण अघि बढाउन निर्देशन दिएका छन्। उनले पुलको काम सम्पन्न भएपछि मात्र मूल्याङ्कनका आधारमा भुक्तानी गर्न सम्बन्धित पूर्वाधार कार्यालयलाई निर्देशन दिएका छन्।
मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले पटक–पटक निर्माण कम्पनीलाई काम पूरा गर्न आग्रह गरे पनि चासो नदेखाएको बताए। उनका अनुसार कम्पनीलाई पटक–पटक म्याद थपेर काम गर्ने अवसर दिइएको छ।
पूर्वसांसद पाल्देन छोम्पाङ गुरुङले पर्यटकीय जिल्ला मनाङमा आवश्यक पूर्वाधार समयमै निर्माण नहुँदा स्थानीयवासीसँगै पर्यटकले समेत सास्ती खेप्नुपरेको बताए। पुल निर्माण सम्पन्न भए आवतजावत सहज हुनुका साथै स्थानीय विकास र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनको भनाइ छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्