बागलुङ । भदौको पहिलो मंगलबार बागलुङ नगरपालिका–१२ स्थित प्रसिद्ध कालभैरव मन्दिरमा हरेलो मेलाको रौनक देखिएको छ। नागपञ्चमीपछिको पहिलो मंगलबार हरेलो गर्ने परम्पराअनुसार मन्दिर परिसरमा मेला आयोजना गरिएको हो।
केही वर्षयता हरेलो मेला संस्थागत रूपमा आयोजना हुँदै आएको छ। बलेवा भैरव मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको मेलामा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि राज्यले अघि सारेका योजनामा निजी क्षेत्रले साथ दिने बताए।
ढकालले चर्चामा रहेको केबलकार परियोजनासहित धार्मिक तथा पर्यटकीय क्षेत्रका अन्य परियोजनामा लगानी गर्न निजी क्षेत्र तयार रहेको बताए। राज्यले यस्ता क्षेत्रको प्रवर्द्धनका लागि उपयुक्त नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ।
उनले युवालाई रोजगारीका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्न पर्यटनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। महासंघको अध्यक्ष हुँदा आफूले इन्भेस्टमेन्ट कम्पनीमार्फत लगानीका लागि कोष निर्माणको सुरुआत गरेको पनि उनले बताए।
बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले नगरको विकासका लागि स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको बताए। नगरभित्रका प्रमुख पर्यटकीय गन्तव्यबारे क्यूआर कोडमार्फत जानकारी लिन सकिने व्यवस्था गरिएको उनले जानकारी दिए।
भैरवस्थान मन्दिर व्यवस्थापन समिति तथा हरेलो मेला आयोजक समिति अध्यक्ष ज्ञानेन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार कृष्ण अखेली, कोषाध्यक्ष चन्द्रबहादुर केसी, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का र बागलुङ नगरपालिका–१३ का अध्यक्ष नारायण शर्मा पौडेललगायतले धारणा राखेका थिए।
मेलामा तरबार नाच, विभिन्न लोकगीत तथा भजन–चुड्का प्रस्तुत गरिएको थियो। बाली लगाएपछि त्यसलाई रोग तथा कीराबाट जोगाउन हरेलो गर्ने परम्परा रहेकामा पछिल्लो समय यसलाई मेलाको स्वरूप दिइएको हो।
मन्दिर क्षेत्रमा भौतिक संरचना निर्माण, सुरक्षा प्रबन्ध तथा पूजा व्यवस्थापनका कामसमेत गरिएको आयोजकले जनाएको छ। मेलाका लागि करिब ८ लाख ८० हजार रुपैयाँ खर्च हुने कोषाध्यक्ष चन्द्रबहादुर खत्रीले जानकारी दिए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्