काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार देशभर सामान्यतया बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार दिउँसो देशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ भने पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशीको तराई र मधेस प्रदेशका केही स्थानमा हुरीको समेत सम्भावना छ।
काठमाडौँमा दिउँसो वर्षाको सम्भावना
काठमाडौँ उपत्यकामा आज दिउँसो तथा अपराह्नतिर वर्षा हुने सम्भावना रहेको छ। मौसमविद्का अनुसार दिउँसो केही समय मौसम खुले पनि पुनः बदली भई पानी पर्नसक्नेछ।
राति पनि वर्षाको सम्भावना
राति हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपात र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
साना नदीमा आकस्मिक बाढीको जोखिम
बिहानसम्म कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा अन्य प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ। तर दिउँसो र राति नदीको बहाव बढ्नसक्ने पूर्वानुमान गरिएको छ।
रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बझाङ र दार्चुलालगायत जिल्लाका ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्नसक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। त्यसैले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्