रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालमा लुम्बिनी प्रदेशलाई लिएर आन्तरिक विवाद चर्किएको छ। पार्टी केन्द्रको निर्देशनविपरीत एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई सहयोग गरेको आरोपमा प्रदेश सभा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयसँग पार्टी केन्द्रले स्पष्टीकरण मागेको छ। संयोगवश, पाण्डेयले पनि आफूले जारी गरेको ह्वीप पालना नगरेको भन्दै प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई स्पष्टीकरण सोधेका छन्।
मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिँदा संसदीय दलको निर्णय र ह्वीपविपरीत मतदान गरेको भन्दै काफ्लेलाई तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ। संसदीय दलका नेता पाण्डेयले काफ्लेलाई पठाएको पत्रमा दलको निर्णयअनुसार मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको भए पनि त्यसको पालना नगरेको उल्लेख गरिएको छ।
पत्रमा भदौ १ गते प्रदेश सभामा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जसपा नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दलले पक्षमा मतदान गर्ने निर्णय गरेको र सोहीअनुसार ह्वीप जारी गरिएको जनाइएको छ। दलको निर्णयविपरीत मतदान गर्नुको कारणसहित काफ्लेसँग विभिन्न प्रश्नको जवाफ मागिएको छ।
काफ्ले संसदीय दलको सदस्य भए–नभएको, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार पार्टीले जारी गरेको निर्देशन पालना नगर्नुको कारण र दलको निर्देशन पालना गर्नु आफ्नो दायित्व भए–नभएकोबारे उनले स्पष्ट पार्नुपर्ने पत्रमा उल्लेख छ।
मुख्यमन्त्री आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिँदा उनको पक्षमा ४५ र विपक्षमा २६ मत परेको थियो। जसपा नेपालले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो।
यता, पार्टी केन्द्रले मंगलबार नै संसदीय दलका नेता पाण्डेयसँग पनि स्पष्टीकरण मागेको छ। पार्टी निर्देशनविपरीत लुम्बिनी सरकारलाई विश्वासको मत दिएको तथा सरकारमा सहभागी भएको विषयमा सात दिनभित्र लिखित जवाफ दिन केन्द्रले निर्देशन दिएको हो। चित्तबुझ्दो जवाफ नआए पार्टी विधानअनुसार कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।
यसरी एउटै दिन पार्टी केन्द्रबाट संसदीय दलका नेता पाण्डेयसँग स्पष्टीकरण मागिनु र पाण्डेयले प्रदेश सभा सदस्य काफ्लेलाई स्पष्टीकरण सोध्नुले जसपा नेपालभित्र लुम्बिनीको सत्ता सहकार्यलाई लिएर देखिएको विवाद थप जटिल बनेको संकेत गरेको छ। पार्टी केन्द्रको निर्देशन, प्रदेश संसदीय दलको निर्णय र सांसदहरूको व्यक्तिगत राजनीतिक भूमिकाबीच देखिएको टकरावले आगामी दिनमा जसपा नेपालको लुम्बिनी प्रदेशमा आन्तरिक शक्ति संघर्ष अझ बढ्ने सम्भावना देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्