काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरीको स्रोत–साधन खरिद प्रक्रियामा अनियमितता भइरहेको आरोप लगाउँदै ‘निश्चित विचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेको’ दाबी गरेका छन्।
बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले समितिले यसअघि प्रहरीको स्रोत–साधन खरिदसम्बन्धी कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरे पनि कागजात प्राप्त भए–नभएकोबारे जानकारी गराउन समिति सभापतिसँग आग्रह गरे।
उनले पछिल्लो समय पनि प्रहरीले करोडौँ रुपैयाँका टेण्डर आह्वान गरेको भन्दै खरिद प्रक्रियामाथि प्रश्न उठाए।
सुनारले यसअघि समितिमा आफूले उठाएको प्रश्नमा आफू अडिग रहेको बताए। आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको लागे अदालतमा मुद्दा हाल्नसमेत चुनौती दिए।
“अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु। कहीँकतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टी अदालत छ, गएर मुद्दा हाल्नुहोला। कठघरामा म उभिएर जवाफ दिनलाई म तयार छु।”
उनले संसदीय समितिमा सांसदले प्रश्न उठाउने अधिकार रहेको भन्दै प्रश्न गरेकै आधारमा कुनै सांसदलाई धम्क्याउने, घेराबन्दी गर्ने वा हतोत्साहित गर्ने व्यवहार स्वीकार्य नहुने बताए।
सुनारले समितिको बैठकमा नियमावलीविपरीत कुनै गतिविधि भए सभापतिले तत्काल रुलिङ गर्नुपर्ने धारणा राखे। भ्रष्टाचार र खरिद प्रक्रियाबारे सामान्य प्रश्नबाट मात्रै गहिराइमा पुग्न नसकिने भन्दै उनले आफू समितिमा रहँदासम्म यस्ता विषयमा कडा र गम्भीर प्रश्न उठाइरहने बताए।
प्रहरी खरिदसम्बन्धी कागजातको माग
सार्वजनिक लेखा समितिले यसअघि प्रहरी प्रधान कार्यालयलाई स्रोत–साधन खरिद प्रक्रियासम्बन्धी आवश्यक कागजात १५ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको थियो। उक्त कागजात प्राप्त भए–नभएको विषयमा सुनारले बिहीबारको बैठकमा पुनः प्रश्न उठाएका हुन्।
सांसद सुनारले प्रहरी खरिद प्रक्रियामा आफूले उठाएका प्रश्नको जवाफ दिन सम्बन्धित पक्षलाई आग्रह गर्दै आवश्यक परे कानुनी प्रक्रियामा समेत उपस्थित हुन आफू तयार रहेको बताएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्