नवलपरासीपूर्व । दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक नवलपरासीपूर्वको सामुदायिक वनमा सकुशल फेला परेका छन्। गैँडाकोट नगरपालिका–१४ भागरबाट हराएका शिवान तामाङलाई प्रहरीले दुई दिनपछि शंखदेवी सामुदायिक वनबाट उद्धार गरेको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका अनुसार, भदौ २ गते बिहान करिब ७ बजे बालककी हजुरआमा हेमकुमारी आले घरनजिकैको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। घर फर्किएपछि नाति शिवान घरमा नभएको थाहा भएको थियो।
स्थानीय बासिन्दा र छिमेकीले वन क्षेत्रमा खोजी गरे पनि बालक नभेटिएपछि इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको थियो।
बालकको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो। स्थानीयवासीसमेतको सहभागितामा वन क्षेत्रमा व्यापक खोजी गरिएको थियो।
प्रहरीका अनुसार भदौ ४ गते बिहान करिब १० बजे गैँडाकोट नगरपालिका–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा बालक शिवानलाई सकुशल फेला पारिएको हो।
उद्धारपछि बालकलाई आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले सम्बन्धित आफन्तको जिम्मा लगाएको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्