काठमाडौं । नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मोनैखिरले बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–साउदी अरब द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, नेपाली श्रमिकको सुरक्षा तथा कल्याण र आपसी हितका विभिन्न विषयमा छलफल भएको हो।
भेटमा नेपाल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको महत्वबारे चर्चा गर्दै दुवै देशबीच उच्चस्तरीय भ्रमण तथा संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।
परराष्ट्रमन्त्री खनालले उच्चस्तरीय भ्रमण र नियमित संवादले दुई देशबीचको सम्बन्धलाई थप गति दिनुका साथै लगानी, पर्यटन, हवाई सम्पर्क, श्रम तथा अन्य आर्थिक क्षेत्रमा सहकार्य विस्तार गर्न सहयोग पुग्ने बताएका थिए।
भेटका क्रममा मन्त्री खनालले हालैको क्षेत्रीय द्वन्द्वका क्रममा साउदी अरबले आफ्ना नागरिकसँगै त्यहाँ रहेका नेपाली श्रमिकको सुरक्षा र संरक्षणका लागि अपनाएका उपायप्रति धन्यवाद व्यक्त गरे।
साउदी अरबमा कार्यरत केही नेपाली श्रमिकले आफूले गरेको कामअनुसार उचित पारिश्रमिक नपाएको भन्ने रिपोर्टप्रति पनि मन्त्री खनालले चासो व्यक्त गर्दै त्यस्ता विषयमा आवश्यक ध्यान दिन साउदी पक्षलाई आग्रह गरेका थिए।
त्यस्तै, साउदी अरबमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल ल्याउने प्रक्रियामा साउदी अधिकारीहरूले पुर्याउँदै आएको सहयोगको समेत मन्त्री खनालले प्रशंसा गरे।
भेटमा राजनीतिक परामर्श, लगानी, पर्यटन, हवाई सम्पर्क, श्रम गतिशीलता तथा साउदी अरबमा रहेका नेपाली श्रमिकको कल्याणलगायतका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने विषयमा छलफल भएको थियो।
दुवै पक्षले नेपाल–साउदी सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै आपसी सम्पर्क र संवादलाई थप सुदृढ बनाउँदै द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल र साउदी अरबबीच सन् १९७७ मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसयता दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्