काठमाडौँ । काठमाडौँको वनस्थलीमा डेरा गरी बस्ने व्यक्तिको कोठाबाट सुनका गरगहना र नगद चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार २०८३ साउन १४ गते बिहान करिब ७ः३० बजे काठमाडौँ महानगरपालिका–१६ वनस्थलीस्थित कोठाबाट सुनका गरगहना तथा नगद चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त बालाजुबाट टोली परिचालन गरिएको थियो।
अनुसन्धानका क्रममा चोरी गर्ने, चोरीका सामान बिक्री गर्ने तथा खरिद गर्ने कार्यमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट विभिन्न प्रकारका सुनजस्तो देखिने गरगहना बरामद गरिएको छ।
सुनचाँदी पसल सञ्चालकसमेत पक्राउ
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२३ का ५४ वर्षीय विनोद शाक्य पनि छन्। उनी सुनचाँदी खरिद–बिक्री गर्ने पसल सञ्चालक रहेको प्रहरीले जनाएको छ।
त्यस्तै सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई काठमाडौँ–१६ बस्ने २२ वर्षीय सुविन घिमिरे, मकवानपुरको बाग्मती गाउँपालिका–८ का २६ वर्षीय सुरज बिक, काभ्रेपलाञ्चोक बल्देखेदिन्चे घर भई काठमाडौँ चमती बस्ने २६ वर्षीय सञ्जय तामाङ, काठमाडौँ–१५ का ३५ वर्षीय रवि महर्जन र सोही स्थानका ३६ वर्षीय रविन महर्जन पक्राउ परेका छन्।
प्रहरीका अनुसार घिमिरे, बिक, तामाङ र रविन महर्जन चोरीमा तथा रवि महर्जन चोरीका सामान बेचबिखनमा संलग्न रहेको आरोप छ।
विभिन्न गरगहना बरामद
प्रहरीले उनीहरूबाट मोती माला, मोती हार, हसुली, लकेट, खुकुरी कोट पिन, हरियो माला, मंगलसूत्र, तीन लियर माला, सोले गेडी माला, लक्ष्मी माला, सोली माला, सि माला, नेक्लेसलगायत विभिन्न गरगहना बरामद गरेको जनाएको छ।
त्यस्तै नवरत्न माला, रातो मंगलसूत्र, गोलो औँठी, चन्द्रमा र बक्स औँठीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
केही अभियुक्त अन्य मुद्दामा पनि हिरासतमा
प्रहरीका अनुसार रविन महर्जन र सञ्जय तामाङ साउन २० गते लागुऔषध तथा चोरीसम्बन्धी मुद्दामा पक्राउ परी प्रहरी वृत्त स्वयम्भूको हिरासतमा थिए।
यस्तै, सुविन घिमिरे र सुरज बिक अभद्र व्यवहारसम्बन्धी कसुरमा प्रहरी वृत्त बालाजुको हिरासतमा रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्