काठमाडौं । संसदीय सुनुवाइ समितिमा सेना तथा सुरक्षासँग सम्बन्धित गम्भीर प्रकृतिको उजुरी परेको छ ।
शुक्रबार (भदौ ५) सिंहदरबारमा बसेको समितिको बैठकले उक्त उजुरी आवश्यक कारबाहीका लागि सचिवालयमार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।
बैठकपछि निर्णय सार्वजनिक गर्दै समिति सभापति बोधनारायण श्रेष्ठले सेना तथा सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी प्राप्त भएको जानकारी दिए । उजुरी रक्षा वा गृह मन्त्रालयमध्ये कुनसँग बढी सम्बन्धित छ भन्ने अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउन समितिको सचिवालयलाई जिम्मेवारी दिइएको उनले बताए ।
सभापति श्रेष्ठका अनुसार समितिमा प्राप्त उजुरी तथा प्रस्तावित व्यक्तिहरूको सुनुवाइका क्रममा उठेका विभिन्न प्रश्नबारे पनि बैठकमा छलफल भएको थियो ।
सुनुवाइका क्रममा माग गरिएका सूचनाका विषयमा पनि समितिले स्पष्ट पारेको छ । सुनुवाइ प्रक्रिया प्रत्यक्ष प्रसारण तथा रेकर्ड हुने भएकाले सम्बन्धित व्यक्तिले आवश्यक जानकारी रेकर्डबाटै प्राप्त गर्न सक्ने समितिको निष्कर्ष रहेको श्रेष्ठले बताए ।
सूचनाको हकसम्बन्धी विषयमा कानुनी प्रक्रिया
समितिका सदस्यहरूले व्यक्तिगत अध्ययनका लागि तयार गरेका सामग्री तथा अध्ययन प्रक्रिया नितान्त निजी विषय भएकाले त्यसको विवरण सार्वजनिक गरिरहनु नपर्ने सभापति श्रेष्ठले बताए ।
सूचनाको हकसम्बन्धी विषयमा भने प्रचलित कानुनअनुसार नै प्रक्रिया अघि बढाइने समितिले जनाएको छ ।
सदस्यका लागि अभिमुखीकरण कार्यक्रम
बैठकले समितिका सदस्यहरूका लागि आगामी १८ र १९ गते आयोजना हुने अभिमुखीकरण कार्यक्रमको स्थान र विषयवस्तु तय गर्ने जिम्मेवारी सचिवालयलाई दिएको छ ।
सभापति श्रेष्ठका अनुसार अभिमुखीकरण कार्यक्रममार्फत समितिको काम, सुनुवाइ प्रक्रिया तथा सम्बन्धित विषयमा सदस्यहरूलाई थप जानकारी दिइनेछ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्