काठमाडौं । नेपालमा हरित हाइड्रोजनको सम्भावना, ऊर्जा रूपान्तरण तथा औद्योगिक डिकार्बोनाइजेसनका रणनीतिक मार्ग समेटिएको पुस्तक सार्वजनिक गरिएको छ ।
‘ग्रिन हाइड्रोजन इन नेपालः स्ट्राटेजिक पाथवेज फर डिप डिकार्बोनाइजेसन एन्ड इन्डस्ट्रियल ट्रान्सफर्मेसन’ नामक पुस्तक काठमाडौं विश्वविद्यालयमा गरिएको अनुसन्धान तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्यका आधारमा तयार पारिएको हो ।
पुस्तकको विमोचन त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. भोला थापा, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. विवेक बराल र काठमाडौं विश्वविद्यालयका प्राध्यापक प्रा. भूपेन्द्र विमल क्षेत्रीले संयुक्त रूपमा गरेका छन् ।
पुस्तकका लेखक डा. विराज सिंह थापा काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका सहप्राध्यापक तथा ग्रीन हाइड्रोजन ल्याबका प्रमुख हुन् । उनी विगत दुई दशकदेखि नवीकरणीय ऊर्जा, जलविद्युत्, हरित हाइड्रोजन तथा औद्योगिक डिकार्बोनाइजेसनका क्षेत्रमा अनुसन्धान, प्रविधि विकास र नीतिगत अध्ययनमा सक्रिय छन् ।
पुस्तकमा नेपालमा हरित हाइड्रोजनको उत्पादन, भण्डारण, ढुवानी तथा औद्योगिक प्रयोगका सम्भावनाबारे विस्तृत चर्चा गरिएको छ । ग्रीन हाइड्रोजन ल्याबका अनुसन्धानकर्ता, विद्यार्थी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्यमा पुस्तक तयार पारिएको जनाइएको छ ।
विशेषगरी नेपालको जलविद्युत् स्रोतको उपयोग गरी हरित हाइड्रोजन उत्पादनमार्फत ऊर्जा सुरक्षा सुदृढ गर्ने, आयातित जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने र हरित औद्योगिकीकरणलाई गति दिने विषयलाई पुस्तकले प्राथमिकतामा राखेको छ ।
नेपाल सरकारले पनि हरित हाइड्रोजन विकासका लागि नीतिगत पहल अघि बढाइरहेको छ । हरित हाइड्रोजन नीति तयारी, करसम्बन्धी प्रोत्साहन तथा २.५ मेगावाट क्षमताको व्यावसायिक पाइलट परियोजनाको घोषणालगायत पहलले यस क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको पुस्तकमा उल्लेख छ ।
काठमाडौं विश्वविद्यालयले नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन तथा दिगो औद्योगिक विकासका क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन र ज्ञान सिर्जनालाई निरन्तरता दिँदै यस क्षेत्रको अनुसन्धान तथा विकासलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्