काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच शुक्रबार राजधानीमा भेटवार्ता भएको छ।
कोइराला देउवा निवासमा पुगेर पूर्वसभापति देउवासँग भेट गरेका हुन्। भेटमा कांग्रेसभित्र देखिएको पछिल्लो विवाद, समसामयिक राजनीतिक परिस्थिति तथा पार्टी एकताका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।
‘आज बिहान भेट भएको थियो। भेटमा समसामयिक परिस्थिति र पार्टी एकताको विषयमा केन्द्रित रहेर छलफल भयो,’ थपलियाले भने।
कांग्रेसभित्र पछिल्लो समय सभापति गगन थापाको नेतृत्व र आगामी महाधिवेशनको विषयलाई लिएर विवाद चर्किएको छ। संस्थापन पक्षले आगामी असोजमा महाधिवेशन गर्ने गरी कार्यतालिका अघि बढाएपछि असन्तुष्ट पक्षले त्यसको विरोध गर्दै आएको छ।
पार्टीभित्रको विवाद समाधानका लागि नेता कोइरालाले विभिन्न नेतासँग संवादसमेत अघि बढाएका छन्। कांग्रेस विभाजनको अवस्थामा पुग्न नदिन पार्टीभित्र सहमति र एकताका लागि पहल भइरहेको स्रोतले जनाएको छ।
देउवा समूह सर्वोच्च जाने तयारीमा
यसैबीच, महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा समूह सर्वोच्च अदालत जाने तयारीमा छ। संस्थापन पक्षले अघि बढाएको महाधिवेशन कार्यतालिका रोक्न माग गर्दै कानुनी बाटो रोज्ने तयारी गरिएको हो।
पार्टीभित्र विवाद बढिरहेका बेला देउवा र कोइरालाबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। कोइरालाले पार्टी एकताका लागि शीर्ष नेताहरूसँग संवाद अघि बढाइरहेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्