काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा ऐन चाँडै टुंगोमा पुग्ने बताएका छन्। नयाँ ऐनमार्फत शिक्षा क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक संघ, नेपालको संयोजनमा धनगढीमा आयोजित ‘शिक्षा संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले ऐनमा समेट्नुपर्ने विषयबारे देशभरबाट सुझाव संकलन भइरहेको जानकारी दिए।
उनका अनुसार सातै प्रदेशमा सञ्चालन गरिएका शिक्षा संवादबाट प्राप्त सुझाव र निष्कर्षलाई नयाँ ऐनमा समेट्ने प्रयास भइरहेको छ।
अघिल्लो सरकारले शिक्षा ऐनको मस्यौदा तयार गरे पनि विद्यार्थी, अभिभावक तथा अन्य प्रमुख सरोकारवालासँग पर्याप्त छलफल हुन नसकेकाले थप सुझाव लिन समय दिइएको मन्त्री पोखरेलले बताए।
उनले देशभरबाट प्राप्त सुझावलाई गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक विषय समेटेर ऐनलाई अन्तिम रूप दिने जानकारी दिए।
कार्यक्रममा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले शिक्षा ऐन, नियम तथा नीति निर्माण गर्दा त्यसको दीर्घकालीन प्रभाव र शैक्षिक सुधारलाई केन्द्रमा राख्नुपर्ने बताए।
शिक्षा संवाद कार्यक्रम विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालासँग प्रत्यक्ष छलफल गरी उनीहरूका समस्या, आवश्यकता र सुझाव संकलन गर्ने उद्देश्यले आयोजना गरिएको मन्त्रालयले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्