काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू र आफ्ना समर्थकलाई त्रासमा पार्न विभिन्न प्रकारका दबाब सिर्जना गरिरहेको आरोप लगाएका छन्।
नगरकोटमा आयोजित जनसंगठन समन्वय संयन्त्रको कार्यशालालाई सम्बोधन गर्दै ओलीले सरकार बदनाम गराउने, जेल हाल्ने, सम्पत्ति जफत गर्ने तथा बैंक खाता रोक्का गर्नेजस्ता माध्यमबाट मानिसलाई आर्थिक रूपमा संकटमा पार्ने दिशामा केन्द्रित भएको दाबी गरे।
उनले कुनै व्यक्ति वा व्यवसायीको कारोबार रोकिँदा त्यसको असर उद्योग–व्यवसायदेखि मजदुर, बैंक ऋण र घरभाडासम्म पर्ने बताए। कारोबार रोकिएपछि व्यवसाय सञ्चालन गर्न आवश्यक सामग्रीमा असर पर्ने, बैंकको ऋण बढ्दै जाने र मजदुरले पारिश्रमिक माग्ने अवस्था आउने भन्दै उनले यस्तो कदमले सम्बन्धित व्यक्तिलाई गम्भीर आर्थिक संकटमा पुर्याउने जिकिर गरे।
ओलीले आफूलाई पक्राउ गरेर अरूलाई त्रसित पार्ने प्रयाससमेत भइरहेको आरोप लगाए।
‘मैले यस्ता बारुला मात्रै होइन, कति अरिङ्गाल खाएको छु। यी बारुलासँग म डराउँछु भन्ने कुरा उनीहरूलाई पनि लाग्दैन। तर अरूलाई तर्साउनका लागि केपी ओलीलाई समातेर थुनियो भने अरूको के हुन्छ भनेर थर्कमान बनाउन खोजियो,’ उनले भने।
देशको राजनीतिक भविष्यलाई डर र त्रासका आधारमा निर्धारण गर्न नसकिने उल्लेख गर्दै ओलीले यस्ता दबाबबाट आफू नडराउने बताए।
सुशासन र विकासमा जोड
ओलीले मुलुकलाई पुनः सुशासन र विकासको बाटोमा अघि बढाउनुपर्ने बताए। अन्तर्राष्ट्रिय सम्बन्ध, छिमेकी मुलुकसँगको सम्बन्ध तथा नेपालको परराष्ट्र नीतिलाई समेत सही दिशामा ल्याउनुपर्ने उनको भनाइ छ।
उनले देशको विकास र सुशासनका लागि राजनीतिक स्थायित्व, प्रभावकारी प्रशासन र स्पष्ट राष्ट्रिय नीतिको आवश्यकता रहेको बताए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्