काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको जनाएको छ। शनिबार नेपालको नजिक रहेको न्यूनचापीय रेखा अहिले केही टाढा पुगेको महाशाखाले जनाएको हो। न्यूनचापीय रेखा नजिक हुँदा वर्षाको सम्भावना बढ्ने र टाढा हुँदा घट्ने गर्छ।
महाशाखाले आइतबार बिहान ८ बजे जारी गरेको मौसम पूर्वानुमानअनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। तत्काल भने देशका कुनै पनि स्थानमा वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
यस्तै, आज राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। ती प्रदेशका पहाडी भूभागमा पनि मेघगर्जनसहित वर्षा हुनसक्ने जनाइएको छ।
मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
यसैबीच, बाढी पूर्वानुमान महाशाखाले काठमाडौँसहित २८ जिल्ला र आसपासका खोला तथा नदीमा बाढीको जोखिम रहेको जनाएको छ।
महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, बाँके, बर्दिया र कैलाली तथा आसपासका क्षेत्रमा ससाना नदीको बहाव उल्लेख्य बढ्नसक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
बाढी पूर्वानुमान महाशाखाले जोखिम रहेका क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन र आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरेको छ। नदी तथा खोला किनारमा बसोबास गर्ने र आवतजावत गर्ने व्यक्तिलाई विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्