काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियासँग सम्बन्धित एक महत्वपूर्ण विषयमा जारी गरेको विज्ञप्तिमै राजदूतको परिचय र जिम्मेवारी गलत उल्लेख गरेको पाइएको छ।
मलेसिया सरकारले नेपालका केवल २५ वटा वैदेशिक रोजगारी व्यवसायी संस्थामार्फत कामदार पठाउने जिम्मेवारी दिने तयारी गरेको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रालयले शनिबार (भदौ ६) विज्ञप्ति जारी गरेको थियो।
विज्ञप्तिमा भनिएको छ, “यस सन्दर्भमा आज मिति २०८३ भदौ ६ मा नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालयका माननीय मन्त्रीज्यूले मलेसियाका लागि नेपालका कार्यवाहक राजदूत मोहम्मद फिरदौस अजमानसँग भेट तथा छलफल र परामर्श गर्नुभयो।”
तर, मन्त्रालयले उल्लेख गरेको परिचय गलत रहेको छ। मोहम्मद फिरदौस अजमान नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत हुन्, मलेसियाका लागि नेपालका कार्यवाहक राजदूत होइनन्। मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत भने मुदिता बज्राचार्य हुनुहुन्छ।
यसरी मन्त्रालयले नेपालका लागि मलेसियाका कार्यवाहक राजदूतलाई नै मलेसियाका लागि नेपाली कार्यवाहक राजदूतका रूपमा उल्लेख गरेको देखिन्छ।
विज्ञप्ति सच्याउन पनि ढिलाइ
राजदूतको पद र जिम्मेवारीसमेत गलत उल्लेख भएको विषय सार्वजनिक भए पनि श्रम मन्त्रालयले विज्ञप्ति तत्काल सच्याएको छैन।
विज्ञप्ति जारी भएको झन्डै २४ घण्टा बित्न लाग्दासमेत मन्त्रालयको वेबसाइटमा ‘मलेसियाका लागि नेपालका कार्यवाहक राजदूत मोहम्मद फिरदौस अजमान’ भन्ने गलत विवरणसहितको विज्ञप्ति यथावत् रहेको छ।
वैदेशिक रोजगारीजस्तो संवेदनशील विषयमा छलफल भएको जानकारी दिने क्रममा सम्बन्धित कूटनीतिक प्रतिनिधिकै परिचय गलत उल्लेख हुनु मन्त्रालयको सूचना व्यवस्थापन र तथ्य परीक्षणमाथि प्रश्न उठाउने विषय बनेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्