रूपन्देही । नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य थापाले सरकारका गतिविधिविरुद्ध केन्द्रित हुनुपर्ने अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिने आफ्नै पार्टीका नेता–कार्यकर्तामाथि प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले सिंगो सत्ताले अध्यक्ष ओली र नेकपा (एमाले)लाई कमजोर पार्न खोजिरहेको दाबी गर्दै पार्टीभित्रकै केही नेताको अभिव्यक्ति सत्तापक्षको आलोचनासँग मिल्न गएको भन्दै असन्तुष्टि जनाएका हुन्।
थापाले रहस्यमय ‘खलपात्र’का रूपमा बालेन शाह नेतृत्वको सरकारतर्फ राजनीतिक निशाना सोझिनुपर्ने अवस्थामा पार्टी अध्यक्ष ओलीविरुद्ध अभियान चलाइनुको कारण के हो भन्दै प्रश्न गरेका छन्।
उनले एमालेका सम्मानित नेता अमृतकुमार बोहराको सामाजिक सञ्जाल टिप्पणी, केशवप्रसाद बडालको अन्तर्वार्ता, युवराज कार्कीलगायतका नेताको सार्वजनिक अभिव्यक्ति तथा बौद्धिक परिषद्का अध्यक्षले चलाएको ‘चिया अभियान’समेत उल्लेख गरेका छन्। केन्द्रीय सल्लाहकार परिषद्का एक सदस्यले गरेको ‘ओलीको अनुहार टेलिभिजनमा किन आइरहन्छ ?’ भन्ने टिप्पणी तथा एक केन्द्रीय सदस्यको ‘ओली हटाउनु एमालेको मिसन हो’ भन्ने अभिव्यक्तिप्रति पनि उनले आपत्ति जनाएका छन्।
थापाले यस्ता अभिव्यक्ति वास्तवमै सम्बन्धित नेताहरूको धारणा हुन् वा सञ्चारमाध्यमले सन्दर्भ तोडमोड गरेर प्रस्तुत गरेका हुन् भन्ने प्रश्नसमेत उठाएका छन्। पार्टीभित्र अन्तर्विरोध र अन्तर्ध्वंस बढाउने योजनाबद्ध प्रयास भइरहेको त होइन भन्ने आशंका पनि उनले व्यक्त गरेका छन्।
‘पहिले संवाद गर्नुस्’
थापाले अध्यक्ष ओलीसँग असहमति भए सार्वजनिक रूपमा अभियान चलाउनुभन्दा प्रत्यक्ष संवाद गर्न सुझाव दिएका छन्।
सम्बन्धित नेताहरूले अध्यक्षसँग भेटेर, टेलिफोनमार्फत वा पार्टीको औपचारिक संयन्त्रभित्र छलफल गरेर आफ्नो धारणा राख्न सक्ने उनको भनाइ छ। सञ्चारमाध्यममा आएका अभिव्यक्तिको प्रभावमा परेर निष्कर्षमा पुग्नुभन्दा पूरा सन्दर्भ बुझ्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
“अध्यक्षले प्रयोग गरेको रूपक वा बिम्बलाई आफू र सम्पूर्ण नेता–कार्यकर्तामाथिको व्यक्तिगत आक्रमणका रूपमा बुझेर प्रतिक्रिया दिनु उचित हुँदैन,” थापाको आशय छ।
उनले कतिपय नेता–कार्यकर्ताले अध्यक्ष ओलीले पद छोड्नुपर्ने वा उनलाई हटाउनुपर्ने विषयलाई नै मुख्य राजनीतिक अभियान बनाएको आरोप लगाउँदै प्रश्न गरेका छन्—यो नेकपा (एमाले)को आवश्यकता हो कि पार्टीबाहिरका शक्तिको चाहना?
महाधिवेशनको निर्णय स्वीकार्न आग्रह
थापाले पार्टीको महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकता स्वीकार गर्दै पार्टी विधानअनुसार अघि बढ्नुपर्ने बताएका छन्। नवौँ, दशौँ र एघारौँ महाधिवेशनमा नेतृत्व परिवर्तन गर्न नसकेका पक्षले अहिले फागुन २१ को निर्वाचन परिणामको सम्पूर्ण जिम्मेवारी अध्यक्ष ओलीमाथि मात्र थोपर्न खोज्नु उचित नहुने उनको तर्क छ।
उनले सार्वजनिक निन्दा, आलोचना र विरोधको अभियान चलाएर पार्टीभित्र संस्थागत समाधान खोज्न नसकिने बताएका छन्।
थापाले अन्त्यमा पार्टीभित्र नेतृत्वविरुद्धको सार्वजनिक अभियान बढ्दै गए त्यसले संगठनलाई नै कमजोर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
“अध्यक्ष ओली र एमालेलाई समाप्त पार्न बाहिरबाट प्रयास भइरहेको दाबी गरिरहँदा पार्टीभित्रकै केही आवाज किन त्यही दिशामा मिलिरहेका छन् ?” भन्ने प्रश्न उठाउँदै थापाले असहमति र आलोचनालाई संवाद र संस्थागत प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्