काठमाडौं । अष्ट्रेलियाको दक्षिण अष्ट्रेलियामा रहेको एडिलेड नेपाली समाजको सातौँ द्विवार्षिक साधारण सभाले सन् २०२६–२०२८ का लागि बालगोपाल उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी सापकोटा र एडिलेड नेपाली विद्यालयका प्राचार्य हिमाल कडेल पदेन सदस्य, सचिवमा प्रदीप निरौला, उपसचिवमा विकास पौडेल, कोषाध्यक्षमा पुष्पा बन्जाडे तथा जनसम्पर्क अधिकृतमा सुरेन्द्र रेग्मी चयन भएका छन्।
सदस्यमा निवर्तमान अध्यक्ष श्याम दाहाल, रामकृष्ण शर्मा, बन्धु विक्रम कार्की, खगेन्द्र सत्याल, दिपा दाहाल र बाल सापकोटा चयन भएका छन्।
साधारण सभालाई सम्बोधन गर्दै दक्षिण अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्काले एडिलेड नेपाली समाजले नेपाली समुदायका लागि गर्दै आएको योगदानको प्रशंसा गरिन्।
कार्यक्रममा एनआरएनए दक्षिण अष्ट्रेलियाका संयोजक थिर गुरुङ तथा एडिलेड नेप्लिज क्रिकेट एसोसिएसन र ओशियाना मिट २०२७ का अध्यक्ष विजय जोशीले पनि समाजको योगदानको चर्चा गर्दै नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिए।
अध्यक्ष श्याम दाहालको अध्यक्षतामा भएको सभामा सचिव सागर श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष बालगोपाल उपाध्यायले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
सभाले अध्यक्ष दाहालद्वारा प्रस्तुत अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष आनन्द बखरेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र एडिलेड नेपाली विद्यालयका प्राचार्य हिमाल कडेलद्वारा प्रस्तुत विद्यालयको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
यसै अवसरमा एडिलेड नेपाली समाजको वेबसाइट पनि सार्वजनिक गरिएको छ। वेबसाइट निर्माण समितिका संयोजक सूर्य आचार्यले वेबसाइटले नेपाली समुदायलाई सूचना तथा सेवामा थप सहजता प्रदान गर्ने बताए।
निर्वाचन समिति गठन
नयाँ कार्यसमिति चयनका लागि अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्का, एनआरएनए ओशियाना संयोजक रमेश जोशी, फेन्काका उपाध्यक्ष कपिल पाण्डे, एनआरएनए ओशियानाका पूर्वसहसंयोजक नवीन कडेल तथा एडिलेड नेपाली समाजका पूर्वअध्यक्ष एवं हेल्प नेपाल अष्ट्रेलियाका अध्यक्ष सन्तोषी गौतम सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
निर्वाचन समितिका सदस्य कपिल पाण्डेले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्