काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय स्वाधीनता सुगौली सन्धिपछि अहिलेजस्तो गम्भीर संकटमा नपरेको दाबी गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित ‘कम्युनिस्ट एकता, सहकार्य र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले देश अहिले असाधारण संकटबाट गुज्रिरहेको बताएका हुन्।
‘अहिले देश साँच्चै संकटमा छ। सबैभन्दा ठूलो कुरा राष्ट्रिय स्वाधीनतामा अहिले जस्तो संकट देखापरेको छ, सायद सुगौली सन्धिपछि यति भयानक संकट नेपालले भोग्नुपरेको थिएन,’ उनले भने।
प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा, देशभक्तिपूर्ण आन्दोलन र कम्युनिस्ट आन्दोलनबीच नङ र मासुको सम्बन्ध रहेको बताए।
उनले कम्युनिस्ट पार्टी स्थापनादेखि नै देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै जनताको पक्षमा संघर्ष गर्दै आएको दाबी गरे।
‘अहिले पनि राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति एकताको अर्को कुनै विकल्प छैन,’ प्रचण्डले भने, ‘हामीले अहंकार गरेर या कुनै खालको मनोगतवादी भ्रममा फेरि फस्ने गल्ती गर्नु हुँदैन।’
उनले राष्ट्रिय स्वाधीनताको रक्षा र प्राप्त राजनीतिक उपलब्धि जोगाउन विचार मिल्ने कम्युनिस्ट शक्तिहरूबीच सहकार्य, एकता र पुनर्गठन आवश्यक रहेकोमा जोड दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्