काठमाडौं , ४ बैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठनका १० नेता–कार्यकर्तालाई सुनसरी प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
पूर्वमा बन्द आव्हान गरेकै दिन आज उनीहरुलाई धरानको सामुदायिक वन क्षेत्रबाट इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका सबैले आफूहरु शिक्षक भएको र विप्लव नेतृत्वको शिक्षक संगठनमा आवद्ध रहेको बताएका छन् । पक्राउ पर्नेहरु दैलेख, खोटाङ, ताप्लेजुङ, इलाम, काठमाडौंलगायतका शिक्षकहरु छन् ।
इप्रकाका प्रहरी नायव उपरिक्षक ९डिएसपी० रामेश्वर पौलेलका अनुसार पक्राउ पर्नेमा दैलेख घर बताउने शिक्षक संगठनका उपाध्यक्ष लक्ष्मीराम ढकाल, काठमाडौं घर बताउने महासचिव रमेश रुपाखेती, भोजपुर षडानन्द नगरपालिका–५ घर बताउने संगठनका केन्द्रीय सदस्य गोविन्द खड्का, इलाम नगरपालिका–५ घर बताउने जिल्ला सदस्य प्रेम तामाङ, छन् ।
त्यस्तै ताप्लेजुङको फुङलिङ–२ बस्ने जिल्ला अध्यक्ष युवराज गौतम, जिल्ला सदस्य जीननाथ भट्टराई, फुङलिङ–४ बस्ने जिल्ला उपाध्यक्ष सुशीला गौतम, ताप्लेजुङकै जिल्ला सदस्य गणेश लिम्बू, खोटाङ ऐंसेलुखर्क–६ बस्ने जिल्ला सदस्य जीवन राई र इलाम-३ बस्ने जिल्ला सदस्य खिममाया परियारलाई पनि प्रहरीले प्रक्राउ गरेको छ ।
पक्राउ परेकाहरु शिक्षक नभए सबैलाई म्याद थप गरेर सार्वजनिक अपराधअन्तर्गतको मुद्दा चलाइने बताइएको छ ।
नेकपाले गत चैत ५ गते धनकुटाबाट पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य किरण राईसहित ८ जनाको रिहाईको माग गर्दै पार्टीको पूर्वी कमाण्डले मंगलबार मेचीदेखि जनकपुरसम्म बन्दको घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्