काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्णय र निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन जना प्रदेश सभा सदस्यहरूलाई कारबाही गर्ने भएको छ ।
पार्टीको केन्द्रीय अनुशासन समितिको सिफारिसमा अध्यक्ष राजेन्द्र लिङदेनले कारबाहीको तयारी गरेका हुन् । राप्रपाले बाग्मती संसदीय दलका नेता उद्धव थापालाई याेग्यता नाेटासहित कारबाही गरिसकेको छ । उनको पार्टी सदस्यता निलम्बन गर्नुका साथै संसद्बाट पदमुक्त गर्न सिफारिस गरिएको हो ।
यस्तै अनुशासन समितिले प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङलाई अस्ति १२ घन्टे स्पष्टीकरण सोधेको थियो । तर उनीहरू तीन जनाले स्पष्टीकरणको जवाफ दिएका छैनन् । आज फेरि स्पष्टीकरणका लागि थप १२ घण्टा समय दिइएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । सो सम्बन्धी सूचना टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायतका विभिन्न माध्यमबाट निजहरूलाई प्रेषित गरिएको उनले जानकारी दिए ।
मन्त्री बर्खास्तको तयारी
पार्टी उच्च स्रोतका अनुसार राप्रपाले भोलि तीन मन्त्रीहरुलाई पदबाट बर्खास्त गर्न बाग्मती प्रदेशका सभामुख र निर्वाचन आयोगमा पत्र पठाउने छ । उनीहरू तीन जनालाई सांसदबाट हटाउन सभामुखलाई पत्र पठाउन लागिएको स्रोतको भनाइ छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्