बारा । बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका एक नाबालकको भिडिओ खिचेर सार्वजनिक भएको प्रकरणमा प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिइएको छ। उनीमाथि बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार नाबालक आरोपितको भिडिओ खिच्ने कार्यमा संलग्न देखिएपछि हवल्दार विकलाई नियन्त्रणमा लिएर फौजदारी कसुरअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो।
तीन वर्षीया बालिकाको बलात्कार र हत्या आरोपमा पक्राउ परेका नाबालकलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। अस्पतालको एक कोठामा प्रहरी तथा अन्य व्यक्तिले आरोपित नाबालकको भिडिओ खिचेको पाइएको थियो। तीमध्ये हवल्दार विकले भिडिओ खिचेको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कानुनअनुसार कसुरको आरोप लागेका नाबालकको पहिचान खुल्ने गरी नाम, तस्बिर वा भिडिओ सार्वजनिक गर्न मिल्दैन। तर घटनामा पक्राउ परेका नाबालकले दिएको बयानसहितको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान प्रक्रिया र गोपनीयता संरक्षणमाथि प्रश्न उठेको थियो।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले घटनाबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न निर्देशन दिइसकेको बताएका थिए।
अनुसन्धानका लागि प्रदेश प्रहरीको टोली बारा पुग्यो
भिडिओ सार्वजनिक भएको घटनासहित बालिका हत्या प्रकरणको थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभु ढकालको नेतृत्वमा टोली बारा पुगेको छ।
प्रहरीले बालिकाको बलात्कार र हत्यासम्बन्धी घटनामा हालसम्म नौ जनालाई पक्राउ गरिसकेको जनाएको छ। सार्वजनिक भिडिओमा नाम उल्लेख भएका एक व्यक्तिलाई पनि सोमबार पक्राउ गरिएको छ। उनीसमेत नाबालक रहेको एसपी कुँवरले बताएका छन्।
प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान जारी रहेको जनाएको छ।
तीन दिनपछि फेला परेको थियो बालिकाको शव
सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका साउन ३१ गतेदेखि हराएकी थिइन्। उनको शव तीन दिनपछि सोही क्षेत्रको एक घरमा फेला परेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बालिकामाथि बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ। घटनाको अनुसन्धान जारी रहेकाले प्रहरीले पक्राउ परेकामाथिको संलग्नता र घटनाको पूर्ण विवरण अनुसन्धानपछि मात्र स्पष्ट हुने जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्