काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसद्मै प्रश्न उठाएका छन्। प्रधानमन्त्रीले मन्त्रिपरिषद् र संसद्लाई जानकारी नदिई मुस्ताङ भ्रमण गरेको भन्दै उनले त्यसको कारण स्पष्ट पार्न माग गरेका हुन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्री पदमा पुगेपछि निजी जीवनको दायरा सीमित हुने र सार्वजनिक गतिविधिप्रति जवाफदेही हुनुपर्ने बताए।
“उहाँ मन्त्रिपरिषद्, संसद्लाई सूचना नदिई जानुभएको ? के खान जानुभएको ? हावा खान जानुभएको भए काठमाडौंमै हावा छ,” उनले व्यंग्य गर्दै भने, “मुस्ताङमा स्याउ पनि अहिले फलेको थिएन होला। के चाख्न जानुभएको हो, त्यो भन्नुपर्छ। सदनमा जवाफ दिनुपर्छ।”
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणको उद्देश्य र त्यसबारे सरकारले संसद्लाई स्पष्ट जानकारी दिनुपर्ने साम्पाङको माग थियो। उनले प्रधानमन्त्री जस्तो सार्वजनिक पदमा रहेको व्यक्तिले आफ्ना गतिविधिबारे जनप्रतिनिधिमूलक संस्थाप्रति जवाफदेही हुनुपर्नेमा जोड दिए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्