काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री पदमा रहने व्यक्तिको भ्रमणलाई पूर्णतः निजी विषयका रूपमा लिन नसकिने बताएका छन्। प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणलाई लिएर प्रतिनिधिसभा बैठकमा प्रश्न उठाउँदै उनले प्रधानमन्त्री पदको निजी जीवन नहुने टिप्पणी गरेका हुन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्रीको भ्रमणमा सरकारी सुरक्षा संयन्त्र संलग्न हुने भएकाले त्यसबारे सरकार र जनप्रतिनिधिलाई जानकारी हुनुपर्ने धारणा राखे।
‘प्रधानमन्त्री आफ्नो निजी भ्रमणमा उता जानुभयो रे भन्ने बारेमा कुरा आएको छ। प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन। यो कुरा एकातिर राख्नुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्री एक्लै जानुभएको होइन। उहाँले सरकारी सुरक्षा संयन्त्र उहाँसँग लिएर जानुभएको छ।’
साम्पाङले प्रधानमन्त्रीले मन्त्रिपरिषद् र संसद्लाई समेत जानकारी नदिई भ्रमण गरेको आरोप लगाए। उनले उक्त भ्रमणको उद्देश्यबारे प्रधानमन्त्रीले सदनमा स्पष्ट जवाफ दिनुपर्ने माग गरे।
‘उहाँले मन्त्रिपरिषद्लाई नि सूचना नदिई, संसद्लाई सूचना नदिई के खान जानुभएको उहाँ? हावा थिएन भने काठमाडौंमा हावा छ। मुस्ताङमा स्याउ पनि फलेको छैन होला अहिले। कि के चाख्न जानुभएको, त्यो पनि उहाँले भन्नुपर्छ,’ साम्पाङले भने।
उनले प्रधानमन्त्रीको हैसियतमा गरिने भ्रमण र त्यसमा राज्यका स्रोत तथा सुरक्षा संयन्त्रको प्रयोगबारे पारदर्शिता आवश्यक रहेको पनि जोड दिए। ‘सदनमा जवाफ दिनुपर्छ,’ उनले थपे।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्