काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले दायर गरेको पूरक रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ।
दुवै नेताले छुट्टाछुट्टै रूपमा पेस गरेका पूरक निवेदन मंगलबार दर्ता भएको हो। सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त निवेदनमाथिको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ।
देउवा र खड्काले गत शुक्रबार नै पूरक रिट निवेदन सर्वोच्चमा पेस गरेका थिए। तर निवेदनमा केही विषय सच्याउनुपर्ने भएपछि उनीहरूले सोही दिन निवेदन फिर्ता लिएका थिए। त्यसपछि सोमबार पुनः पेस गरिएको निवेदन अध्ययनपछि सर्वोच्च प्रशासनले दर्ता गरेको हो।
नेपाली कांग्रेसको केन्द्रीय समितिले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गर्दै कार्यतालिका सार्वजनिक गरेको थियो। त्यसअनुसार पार्टीको केन्द्रीय निर्वाचन समितिले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने गरी विस्तृत निर्वाचन कार्यतालिका समेत प्रकाशित गरिसकेको छ।
निर्वाचन कार्यतालिका बदर गर्न माग
देउवा र खड्का पक्षले विशेष महाधिवेशनसम्बन्धी विवादको कानुनी टुंगो नलाग्दै नियमित महाधिवेशनको प्रक्रिया अघि बढाउन नहुने तर्क गर्दै निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका बदर गर्न माग गरेका छन्।
यसअघि विशेष महाधिवेशनसम्बन्धी सर्वोच्च अदालतको निर्णय पुनरवलोकन गर्न माग गर्दै देउवा र खड्काले रिट निवेदन दिएका थिए। सर्वोच्च अदालतले उक्त विषयमा पुनरवलोकनको अनुमति दिएपछि सम्बन्धित मुद्दाको अन्तिम किनारा नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने उनीहरूको अडान रहेको छ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा निवर्तमान सभापति देउवा पक्ष सहभागी भएको थिएन। विशेष महाधिवेशन, त्यसपछिको पार्टीभित्रको शक्ति संघर्ष र नियमित महाधिवेशनको कार्यतालिकालाई लिएर कांग्रेसभित्र देखिएको विवाद अब सर्वोच्च अदालतको सुनुवाइसँग समेत जोडिएको छ।
अब बिहीबार हुने सुनुवाइले कांग्रेसको निर्धारित १५औँ महाधिवेशन प्रक्रिया निरन्तर अघि बढ्ने वा अदालतको आदेशका कारण प्रभावित हुने भन्ने विषयमा थप स्पष्टता आउने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्