काठमाडौँ । बागमती प्रदेश सरकारले स्वास्थ्य सेवाको व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित ‘बागमती डिजिटल हेल्थ’ प्रणाली सञ्चालनमा ल्याएको छ। नयाँ प्रणालीमार्फत अब प्रदेशका सरकारी स्वास्थ्य संस्थामा दैनिक कति बिरामीले सेवा लिए, कुन प्रकारको उपचार आवश्यक पर्यो, आकस्मिक सेवाको अवस्था कस्तो छ र कति बिरामी अस्पतालमा भर्ना भए भन्ने विवरण डिजिटल रूपमा तत्कालै प्राप्त गर्न सकिने भएको छ।
प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले सञ्चालनमा ल्याएको ‘डिजिटल हेल्थ कनेक्ट ड्यासबोर्ड’मा स्वास्थ्य संस्थाबाट प्रदान गरिएका सेवाको दैनिक विवरण डिजिटल अभिलेखमा राखिनेछ। यसबाट स्वास्थ्य सेवा व्यवस्थापनलाई थप छिटो, प्रभावकारी र तथ्यमा आधारित बनाउने अपेक्षा गरिएको छ।
मंगलबार दिउँसो सार्वजनिक गरिएको ड्यासबोर्डअनुसार बागमती प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा एकै दिन ६ हजार २३३ जना बिरामीले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। तीमध्ये ५ हजार ८४७ जनाले बहिरङ्ग सेवा (ओपिडी) लिएका छन् भने ३७६ जनाले आकस्मिक सेवा प्राप्त गरेका छन्। त्यस्तै, ८१ जना बिरामी अस्पतालमा भर्ना भएका छन्।
कुन सेवामा कति बिरामी?
ड्यासबोर्डमा उपलब्ध विवरणअनुसार मेडिकल ओपिडीमा सबैभन्दा बढी १ हजार ७०५ जना बिरामीले सेवा लिएका छन्।
त्यसपछि हाडजोर्नी ओपिडीमा ४६३ जना, बालरोग सेवामा ४०३ जना, स्त्रीरोग सेवामा ३८७ जना, नाक–कान–घाँटी सेवामा २२५ जना र छाला रोग सेवामा २२० जना बिरामीले उपचार लिएका छन्।
त्यस्तै, सर्जिकल सेवामा २३५ जना, अन्य चिकित्सा सेवामा १६६ जना, मानसिक स्वास्थ्य सेवामा १४४ जना तथा दन्त ओपिडीमा १४० जना बिरामीले सेवा लिएको विवरण प्रणालीमा समावेश गरिएको छ।
मन्त्रालयबाटै अस्पतालको चाप हेर्न सकिने
दैनिक स्वास्थ्य सेवा विवरण डिजिटल प्रणालीमा अभिलेख हुन थालेपछि अब प्रदेश स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालमा बिरामीको चाप र सेवा प्रवाहको अवस्था तत्कालै हेर्न सक्नेछ।
यसबाट कुन अस्पतालमा कुन प्रकारको सेवा आवश्यक छ, कुन क्षेत्रमा बिरामीको चाप बढी छ र कहाँ थप जनशक्ति, उपकरण तथा पूर्वाधार आवश्यक पर्छ भन्ने विषयमा तथ्यका आधारमा निर्णय लिन सहज हुने मन्त्रालयको अपेक्षा छ।
प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमका अनुसार अब प्रादेशिक अस्पतालमा दैनिक कति बिरामी आउँछन्, उनीहरूले कस्तो सेवा लिन्छन् र कति जनाले निःशुल्क सेवा प्राप्त गर्छन् भन्ने जानकारी मन्त्रालयबाटै हेर्न सकिनेछ।
एकै दिन ६ हजार ९४० प्रयोगशाला परीक्षण
डिजिटल प्रणालीमा प्रयोगशाला सेवाको विवरणसमेत समेटिएको छ। मंगलबार दिउँसो ३ बजेसम्म प्रदेशका स्वास्थ्य संस्थामा ६ हजार ९४० वटा प्रयोगशाला परीक्षण गरिएको विवरण ड्यासबोर्डमा देखिएको छ।
त्यस्तै, ४ हजार ५२२ जनाले स्वास्थ्य बीमामार्फत सेवा लिएका छन् भने १ हजार ६७८ जनाले नगद भुक्तानी गरेर स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
स्वास्थ्य बीमामार्फत सेवा लिने बिरामीको संख्या उल्लेख्य देखिनुले प्रदेशका सरकारी स्वास्थ्य संस्थामा बीमा कार्यक्रमको उपयोग बढिरहेको संकेत गरेको छ।
निरन्तर रूपमा संकलन हुने यस्ता तथ्याङ्कको विश्लेषणबाट बागमती प्रदेशले भविष्यमा स्वास्थ्य सेवा विस्तार, बजेट व्यवस्थापन, जनशक्ति परिचालन र पूर्वाधार विकासका लागि थप प्रभावकारी योजना बनाउन सक्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्