इटहरी, ५ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बारम्बार मानवबस्तीमा कहाली लाग्दो क्षति नोक्सानी पु¥याउँदै आएको इटहरी उपमहानगरपालिका तथा सुन्दरहरैचा नगरपालिकाबीचमा रहेको बूढीगङ्गा नदीलाई अल्पकालीन र दीर्घकालीन योजनामार्फत रोकथामका लागि प्रदेश सरकारले विशेष ध्यान दिने कुरामा जोड दिनुभएको छ ।
मुख्यमन्त्री राईले आज बूढीगङ्गा नदीमा गत साउन २७ गते राति आएको बाढीबाट घरबारविहीन बन्न पुगेका ३७ घरपरिवारका लागि निर्माण भएको आवास हस्तान्तरणपछि आफ्नो धारणा राख्दै उक्त कुरा बताउनुभएको हो ।
इटहरी उपमहानगरपालिका–१० को सुकुम्बासी बस्तीमा पसेको बाढीले घरबारविहीन बन्न पुगेका सुकुम्बासी परिवारको बसोबासका लागि एसओएस बालग्राम इटहरीको आपत्कालीन राहत कोषमार्फत क्विक रेस्क्यु टिम नेपाल तथा अन्य विभिन्न संघसंस्थासमेतको रु ५२ लाखको लागतमा त्यहाँ ३७ परिवारको घर निर्माण गरिएको हो ।
ती घर सम्बन्धित परिवारलाई हस्तान्तरणपछि मुख्यमन्त्री राईले एसओएसलगायतले आपत्कालीन मानव सेवा भावनाले प्रेरित भएर गरिएको यो उदाहरणीय कार्यबाट हामी नेपालीले राम्रो शिक्षा लिन जरुरी छ भन्नुभयो ।
उहाँले सोही प्रसङ्गमा मानवताको सेवा नै आपत्कालीन अवस्थामा देखाउनुपर्ने भएकाले यहाँ असल भावनाले प्रेरित भएर असल काम भएकोप्रति प्रशंसासमेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्