काठमाडौं । तिब्बततर्फबाट रसुवास्थित भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेको छ। बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा अति उच्च सावधानी अपनाउन आग्रह गरेको छ।
महाशाखाका प्रमुख वरिष्ठ जलविज्ञानविज्ञ विनोद पराजुलीका अनुसार भदौ १० गते बिहान करिब ९ बजे रसुवास्थित भोटेकोशी नदीमा अत्यधिक ठूलो बाढी प्रवेश गरेको हो।
बाढीले माथिल्लो क्षेत्रमा ठूलो क्षति पुर्याएको सूचना प्राप्त भएको पराजुलीले बताएका छन्। उनका अनुसार भोटेकोशीमा आएको बाढीको असर त्रिशूली नदी हुँदै मुग्लिनसम्म पर्न सक्ने अनुमान गरिएको छ।
महाशाखाले जोखिमयुक्त तटीय क्षेत्रमा तत्काल एसएमएसमार्फत अलर्ट जारी गरेको छ। त्रिशूली नदीको मुग्लिनसम्मको तटीय क्षेत्रलाई उच्च जोखिममा राख्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।
सुरक्षित स्थानमा जान आग्रह
नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा बस्न महाशाखाले आग्रह गरेको छ। पृथ्वी राजमार्गलगायत जोखिमयुक्त क्षेत्रका सडकमा अनावश्यक आवागमन नगर्नसमेत अनुरोध गरिएको छ।
भोटेकोशीको बाढीका कारण देवघाट, चितवन र नवलपरासीका तटीय क्षेत्रमा समेत असर पर्न सक्ने महाशाखाले जनाएको छ।
बाढी आउनुको कारणबारे अहिलेसम्म ठोस निष्कर्षमा पुगिनसकेको पराजुलीले बताएका छन्। तर थप सूचना जारी नभएसम्म तटीय क्षेत्रका बासिन्दालाई अति उच्च सावधानी अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीको जलस्तर बढ्ने सम्भावना छ। त्यसैले मुग्लिन आसपासका क्षेत्रमा तत्काल जोखिम बढ्न सक्ने भन्दै स्थानीय प्रशासन तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन भनिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्