काठमाडौं । रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूलीमा आएको भीषण बाढीले धादिङ क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले बाढीको बहाव अत्यन्तै ठूलो रहेकाले भौतिक क्षति रोक्न कठिन भएको र अहिले प्रशासनको मुख्य प्राथमिकता मानवीय क्षति न्यूनीकरण रहेको बताएकी छन्।
तिब्बततर्फबाट रसुवास्थित भोटेकोशी नदीमा आएको ठूलो बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा फैलिँदा धादिङका नदीकिनार क्षेत्रसमेत उच्च जोखिममा परेका छन्।
प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार बाढी गल्छीसम्म आइपुग्दा एउटा झोलुंगे पुल बगाइसकेको छ। उनले बाढीको तीव्र बहावका कारण थप भौतिक संरचनामा क्षति हुन सक्ने जोखिम रहेको बताइन्।
“बाढी धेरै नै ठूलो छ। गल्छीसम्म आइपुग्दा एउटा झोलुंगे पुल बगाइसकेको छ। भौतिक क्षति रोक्न सकिने अवस्था छैन,” उनले भनिन्, “त्यसैले मानवीय क्षति नहोस् भनेर काम गरिरहेका छौँ।”
प्रशासनले जोखिमलाई ध्यानमा राख्दै सवारीसाधनलाई सुरक्षित स्थानमा रोकेको छ भने त्रिशूली नदी आसपासका तटीय बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको जनाएको छ।
“गाडीहरू सुरक्षित स्थानमै होल्ड गरिएको छ। तटीय क्षेत्रका बस्ती सार्ने काम भइरहेको छ,” प्रमुख जिल्ला अधिकारी गौतमले बताइन्।
बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा उद्धार, खोज तथा सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीलाई समन्वयात्मक रूपमा परिचालन गरिएको छ।
प्रशासनले त्रिशूली नदीको बहाव अझै उच्च रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी निर्देशन पालना गर्न आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्